अध्यादेशबाट आउँदै कोशी प्रदेश सरकारको बजेट

विहीबार, ३२ जेठ २०८०
विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याइने भएको छ । त्यसका लागि प्रदेश प्रमुखले सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले असार १ मा बजेट ल्याउनेछ । यसअघि बुधबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउन खोजेको भन्दै विरोध गरेका थिए । प्रदेश सभाको बैठकमा बोल्ने विपक्षी दलका नेताहरूले अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चेतावनी दिएका थिए । सत्तापक्षका नेताले भने संविधान बाहिर गएर सरकारले बजेट नल्याउने आश्वासन दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार