आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु र प्याजमा भ्याटः अर्थमन्त्री डा. महत

सोमबार, ०४ असार २०८०
विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भने ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’ ‘‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रुपमा विकासित हुन्छ’ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवद्र्धनका लागि नेपाल सरकार सम्पूर्ण रुपले साथमा रहन्छ ।’ ‘‘व्यवसायहरुको माग तीनवटा छन्, यो स्वभाविक हो । यो वर्षको अन्त्यमा आएर ब्याजदरमा सुधार आउन सक्छ । पूँजीगत खर्च र मौद्रिक नीतिले हाम्रो अर्थतन्त्रलाई चलायमान गर्छ । अहिले अर्थतन्त्रलाई चलायमान राख्न सकियो भने हामी अर्को वर्ष पूँजीगत खर्च बढाउन सक्छौं’, डा. महतले भने । पूर्व–पश्चिम राजमार्गमा धेरै श्रोत परिचालन भएको उल्लेख गर्दै यति धेरै खर्चलाई हाम्रो ठाउँमा खर्च भएको मान्न कोही तयार नभएको तर मेरो गाउँमा, मेरो नगर र वडामा कति बजेट आयो, त्यसको मात्र हिसाबकिताब हुने गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार