भाटभटेनीले अहिलेसम्म ८ हजारभन्दा बढीलाई प्रत्यक्ष्य रोजगारी प्रदान गरिहेको छ ।
जनकपुरमा बुधबार आफ्नो २५औं स्टोर अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले शुभारम्भ गरे । शुभारम्भसँगै आजैदेखि किनमेलका लागि खुला भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुर शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको स्टोर सञ्चाललनले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।
स्टोरका कारण यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए ।
आफू जनकपुरबारे सानैबाट जानकार रहेकोे र पहिला पनि धेरैपटक आईसकेको माता सीताको यो पुण्य भूमिमा केही गर्नु पर्छ भन्ने लागेर भाटभटेनी सञ्चालनमा ल्याएको उनले बताए ।
२ अर्बभन्दा बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा १४ मुजेलिया, शहीदद्वार नजिकै स्थापना भएको स्टोर १ विगाह १० धुर क्षेत्रफलमा बनेको छ ।
२ लाख वर्गफुट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएको भाटभटेनीले बताएको छ ।
भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले अध्यक्ष गुरुङले दाबी गरे । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखेर रोजगार पनि प्रदान गर्दै आएका छौं, उनले भने ।
स्वदेश तथा विदेशबाट जनकपुर घुम्न आउने पर्यटकलाई समेत लक्षित गरी स्थापना गरिएको स्टोरमा उपलब्ध हुने सेवाले यहाँको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको भाटभटेनी सुपरस्टोरका क्षेत्रिय व्यवस्थापक विनोद भट्टराईले बताए ।
स्टोर सञ्चालनले जनकपुरमात्र नभई आसपासका जिल्लाहरुसँगै सिमावर्ती भारतीय शहरका बासिन्दा पनि लाभान्वित हुने उनले उल्लेख गरे ।
स्टोर सञ्चालनसँगै जनकपुरको आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताइएको छ ।
स्टोरमा ग्रोसरी, किचनवेयर, रेडीमेड गार्मेन्ट, बच्चाका खेलौनाका सामान, फुटवेयर, ईलेक्ट्रोनिक्सका सामानहरु, विश्व प्रसिद्ध ब्रान्डका कपडाहरु, जुत्ताहरु लगातयत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजार मूल्यभन्दा सस्तो उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको दाबी छ ।
पूर्ण वातानुकुलित एवम् आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रिय स्तरको सपिङ गर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनले बताए ।
अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, हिमालय मम, बास्किन रबिन्स आइस क्रिम, अतिथि भेज रेष्टुरेन्ट लगायतको फुडकोर्ट रहेको यस स्टोरमा मल्टिप्लेक्स सिनेमा हल, बालबालिकालाई खेल्नका लागि किड्स जोन, स्केट पार्क जस्ता सुविधाहरु पनि रहेको व्यावस्थापक भट्टराईले बताए ।
स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशतसम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिईने भाटभटेनीले जनाएको छ ।
मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने अर्थतन्त्र सुधारमा टेवा पुग्नेगरी बजार विस्तारलाई थप तिब्रता दिएको छ । नीजि क्षेत्रका अन्य उद्योगी तथा व्यवसायीहरुले जस्तै भाटभटेनीले संकटको सामना गर्नुपरेको भएतापनि ठूलो आँट गरेर नै स्टोर विस्तारलाई तिब्रता दिइएको अध्यक्ष गुरुङ बताउँछन् ।
प्रतिक्रिया