विराटनगर । अलपत्र हुलाकी राजमार्ग निर्माणको काम अघि बढाउन माग राख्दै जनप्रतिनिधिले बिहीबारदेखि भोक हड्ताल सुरु गरेका छन् । मोरङको कटहरी गाउँपालिका–३ का जनप्रतिनिधि बिहान १०ः१५ बजेदेखि गाउँपालिकाको कार्यालयअगाडि अनिश्चितकालीन भोक हड्तालमा बसेका हुन् ।
वडाध्यक्ष जदुलाल कामतको नेतृत्वमा वडा सदस्यहरु वल्सी दास तत्मा, शंकर पासवान, दुखनीकुमारी पासवान र सुलेखादेवी गनगाईं भोक हड्तालमा बसेका छन् । उनीहरुलाई स्थानीय बासिन्दाले साथ थिएका छन् ।
आफूहरुको आन्दोलनलाई गाउँपालिका अध्यक्ष देवराज चौधरीले दबाउने प्रयास गरेको आरोप आन्दोलनकारीको छ । खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको र सवारी चालकको अकालमा मृत्यु भइरहेको भन्दै सडक निर्माण गरिनुपर्ने माग राखेर आन्दोलन हुँदै आएको छ ।
निर्माणको माग राख्दै यसअघि गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको थियो । त्यसक्रममा आन्दोलनकारीहरु तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
घटनामा संलग्नमध्ये राजेश कामतलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । राजा कामत, महेश कामत, शंकर पासवान र विकेश मण्डल फरार छन् ।
वडाध्यक्ष जदुलालका अनुसार जनताको मागको सुनुवाइ नगरी गाउँपालिकाकै लेटरप्याड प्रयोग गरेर आन्दोलनकारीविरुद्ध जाहेरी दिइएको उनले बताए । उनले आन्दोलन दबाउने गाउँपालिका अध्यक्ष लागेको आरोप पनि लगाए ।
गाउँपालिका अध्यक्षले माफी मागेर जतिसक्दो चाँडो राजमार्ग निर्माणका लागि पहल गर्ने प्रतिवद्धता नजनाएसम्म आन्दोलन नरोकिने जदुलालको भनाइ छ ।
तराई–मधेसलाई यातायातमार्फत पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित ४ वर्षअघि निर्माण सुरु गरिएको राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती भएको गाउँलेले बताएका छन् ।
जदुलालका अनुसार विराटनगरको हाटखोलादेखि मोरङको कटहरी हुँदै रंगेलीसम्मको निर्माणमा ठेकेदारले लापरबाही गरिरहेका छन् । गाउँपालिकाभित्र पर्ने सडकको खाल्डाका कारण दुर्घटना हुँदा ३ जनाको मृत्यु भइसकेको उनी बताउँछन् ।
राष्ट्रिय गौरवका यो आयोजना निर्माण सुरु भएको ४ वर्ष बितिसकेको छ । तर, निर्माणले गति लिन सकेको छैन । विराटनगरको केशलियादेखि मोरङको रतुवा खोलासम्मको ४४ किलोमिटर सडकखण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति भने ४० प्रतिशत मात्रै देखिएको वडाध्यक्ष जदुलालको भनाइ छ ।
रतुवाखोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा हुने चरणमा छ । रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बेतौनादेखि विराटनगरको हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको र काम अलपत्र छाडिएको जनप्रतिनिधि बताउँछन् ।
पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि मोरङ खण्डमा ५ वटा निर्माण कम्पनीले काम गरिरहेका थिए । यो सडकखण्ड निर्माणका लागि ३ अर्ब ६० करोडको ठेक्का लागेको थियो ।
३ वर्षभित्रमा ४ लेन सडक निर्माण गर्ने सम्झौतासहित २०७६ सालमा ठेक्का सम्झौता भएपनि म्याद थप गरेर २०८० कात्तिकसम्म पु¥याइएको छ । रंगेलीको बेतौनादेखि पश्चिम विराटनगरको काम भने अलपत्र छाडिएको जदुलालको भनाइ छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले राजमार्गमा निर्माणमा आफूहरुले पहल गरिरहेको बताए । ‘राजमार्ग निर्माण सम्पन्न भए सबैलाई सुविधा पुग्छ,’ उनले भने, ‘तर, ठेकेदारले बदमासी गरिदिँदा समस्या भइरहेको छ ।’
यसअघि विराटनगरमै पत्रकार सम्मेलनको आयोजना गरेर जनप्रतिनिधिहरुले हुलाकी सडक निर्माण तत्काल सुरु नभए आन्दोलन थाल्ने चेतावनी दिएका थिए । प्रतिनिधिसभा सदस्य, कोसी प्रदेशका प्रदेशसभा सदस्य (प्रदेश सांसद) तथा स्थानीय तहका प्रमुखहरुले वैशाख २१ गते पत्रकार सम्मेलनको आयोजना गरेर उक्त चेतावनी दिएका हुन् ।
प्रतिनिधिसभा सदस्यहरु ऋषिकेश पोख्रेल, योगेन्द्र मण्डल, प्रदेशसभा सदस्यहरु गणेश उप्रेती, लीलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल र अमृत अर्याल तथा मोरङको नगरपालिकामध्येका प्रमुखहरु रतुवामाईका नागेश्वरप्रसाद सिंह, सुनवर्षीका श्याम राजवंशी, रंगेलीका दिलिप बगडिया एवं गाउँपालिका अध्यक्षहरु धनपालथानका जिवछ गच्छदार र कटहरीका देवराज चौधरीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । तत्काल काम सुरु नभए जनतालाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी उनीहरुको थियो ।
प्रतिक्रिया