कोशी प्रदेश सभाको अधिवेशन असार १४ गतेका लागि सिफारिस

सोमबार, ११ असार २०८०
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले असार १४ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सरकारले सिफारिस गरेको बताए । कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहेका बेला आफू अल्पमतमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अधिवेशन अन्त्यको निर्णय गरेका थिए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । उक्त दिन बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार