मोरङको पथरीमा घरको पर्खाल भत्किँदा ३ जना मजदुर घाइते

मंगलबार, १२ असार २०८०
विराटनगर । मोरङको पथरीमा घरको पर्खाल भत्किँदा मंगलबार बिहान ३ जना मजदुर घाइते भएका छन् । पथरीशनिश्चरे नगरपालिका–१ मा घरको ढलान भत्काउने क्रममा एक्कासि पर्खाल लड्दा घटना भएको हो । पर्खालले किचेर पथरीशनिश्चरे–१ का २४ वर्षीय अभिशेख झा, पथरीशनिश्चरे–२ का २५ वर्षीय अर्जुन मल्लिक र पथरीशनिश्चरे–३ का २८ वर्षीय उमेश श्रेष्ठ घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घाइते हुनेहरु घरको ढलान भत्काउन खटाइएका मजदुर हुन् । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएका घाइतेहरुको अवस्था मध्यम रहेको डीएसपी भण्डारीले बताए । उनका अनुसार केही व्यक्तिहरु मिलेर जग्गाको प्लटिङ गरेका रहेछन् । प्लटिङ गरेको ठाउँमा एउटा पुरानो घर थियो । भण्डारीका अनुसार जग्गा खाली गर्न घरको ढलान भत्काउने क्रममा मुनिको पर्खाल भत्किएर बिहान ८ः३० बजेतिर घटना भएको पाइएको छ । प्रहरीले जग्गा प्लटिङ गर्नेहरुको पहिचान खुलाएको छैन । घर भत्काउने ठेक्का लिएका ठेकेदार भरत भण्डारी घाइतेहरुको उपचारमा संलग्न छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार