विराटनगर । नेपाल–भारत सीमा क्षेत्रनजिक बनाइँदै गरेको आकाशे पुल र स्वागतद्वार निर्माण रोकिएको छ ।
विराटनगर महानगरपालिका–१५ रानीमा बनाइँदै गरेको स्वागतद्वारसहितको आकाशे पुल निर्माण भन्सारले रोकिदिएको हो ।
कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको संयुक्त लगानीमा आकाशे पुल निर्माण सुरु गरिएको थियो ।
उक्त संरचना निर्माणका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत ७ गते शिलान्यास गरेका थिए ।
भन्सारजस्तो अति संवेदनशील क्षेत्रमा आकाशे पुल निर्माण नगर्न भन्सारले शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरलाई पत्राचार गरेको थियो ।
काम नरोकिएपछि सशस्त्र प्रहरीको सहयोगमा भन्सारले शनिबार काम रोकिदिएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार सीमा एवं भन्सार क्षेत्र संवेदनशील हुने भएकाले आकाशे पुल निर्माण नगर्न पत्राचार गरिएको थियो ।
दुई देशीय सीमानजिक भन्सारको क्षेत्रमा पुल निर्माण नगर्न आग्रह गरिए पनि बिना स्वीकृति काम अघि बढाइएको उनले बताए ।
भन्सार क्षेत्रमा लिफ्टसहितको आकाशे पुल बनाउँदा सुरक्षा खतरा बढ्ने उल्लेख गर्दे उनले सुरक्षा संवेदनशीलता र जोखिमका कारण काम रोक्नुपर्ने अवस्था आएको बताए ।
गेट मात्रै बनाउँदा आपत्ति नहुने भए पनि ५ मिटर अग्लो आकाशे पुल बनाउनु जोखिमपूर्ण हुने उनको भनाइ छ ।
लिफ्टसहितको आकाशे पुल र स्वागत गेट निर्माणको जिम्मा ह्याबिटाट आशिषदीप जेभी लिएको थियो ।
निर्माण कम्पनीले शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरसँग ६ करोड २५ लाख २४ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको हो ।
निर्माणको अवधि २०८१ साल फागुन २५ गतेसम्मको थियो । निर्माणमा प्रदेश सरकारले ७५ प्रतिशत, विराटनगर महानगरले २० र उद्योग संगठन मोरङले ५ प्रतिशत लगानी गर्ने त्रिपक्षीय सहमति छ ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले २०७७ जेठ २७ गते स्वागतद्वार र आकाशे पुल निर्माणमा सहजीकरण गरिदिन भन्सारलाई आग्रह गरेको थियो । तर, भन्सार कार्यालयले संवेदनशील क्षेत्रमा निर्माण गर्न नमिल्ने भनेको थियो ।
शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्र ठेक्का लागिसकेको परियोजनाको काम रोक्न नमिल्ने बताउँछन् ।
निर्माणमा सहजीकरण गरिदिन र काम नरोक्न भन्सारलाई आग्रह गरिएको उनले उल्लेख गरे ।
असहज परिस्थित आउने भएमा आकाशे पुलको माथिल्लो डिजाइन परिवर्तन गर्न सकिने पनि उनले बताए ।
बनाउने लागिएको उक्त संरचना भारतको जोगबनीबाट करिब सयमिटर उत्तरमा छ । भारतीय क्षेत्रतर्फ सीमा क्षेत्रको दशगजामै जोडेर स्वागतद्वार बनाइएको छ ।
प्रतिक्रिया