वराहक्षेत्र । सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ र ६ स्थित सिसौलीघाट क्षेत्रमा तीव्र कटान गर्न सुरु गरेको छ ।
एक साताभत्र करिब २ सय मिटर जमिन कोशीले कटान गरिसकेको छ । व्यापारिक प्रयोजनका लागि निर्माण भएका ५–६ वटा टहराहरु कटानका कारण स्थानान्तरण गरिएका छन् ।
पूर्वी पहाडी क्षेत्रमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलङ्का टापु क्षेत्रमा समेत कटान जोखिम बढेको छ ।
सप्तकोसीको बाढीले पूर्वी भूभाग कटान गर्दा चक्रघट्टी, राजाबास, प्रकाशपुर लगायतका क्षेत्रहरु बाढीको उच्च जोखिममा परेको वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की बताउँछन् ।
कटान नियन्त्रणका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरिएको उनले बताए ।
सप्तकोशी नदीले पूर्वतर्फ कटान गरेपछि हजारौ परिवार बाढीबाट क्षति हुने त्रासमा छन् । कटान नियन्त्रणको काम गर्दै आएको भारतको बिहार सरकारले कटान भई राख्दा कुनै चासो नदेखाएको नगर प्रमुख कार्कीको भनाई छ ।
बिहिबार नगर प्रमुख कार्कीले जिल्ला समन्वय समितिका सभापति राजन मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, ३ वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुलाई कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गराएका छन् ।
सिसौलीघाट, १३ आरडी, कोशी टप्पु, श्रीलंका टप्पु, जलाल क्षेत्रको कोशी कटान जोखिम क्षेत्रको निरीक्षण गराउँदै नगर प्रमुख कार्कीले जोखिम न्यूनीकरणका लागि ठोस योजना र समस्याको दीर्घकालीन समधान खोजीका लागि पहल गर्न आग्रह गरेका थिए ।
नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल योजना बनाउन, प्रदेश सरकार, केन्द्रीय सरकार र बिहार सरकारलाई कोसी कटान नियन्त्रणका लागि ठोस योजना आवश्यक रहेको बताए ।
यसका लागि जिल्ला समन्वय समिति र प्रशासनले तत्कालै योजना बनाउनु पर्ने उनले बताए । कोशी कटान तीब्र भइरहेको र यसको रोकथाम र आवश्यक तयारीको विषयमा जिल्ला बिपत समितिको बैठकबाट निर्णय गराएर योजना बनाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्।
वर्षौंदेखिको कटान समस्या दीर्घकालीन समाधानको खोजी गरिने जिल्ला समन्वय समितिका सभापति मेहताले बताए । तत्काल भइरहेको कोशी कटान नियन्त्रणको उपाय खोजिने मेहताको भनाई छ ।
सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा छन् ।
प्रतिक्रिया