विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म दुर्घटनामा परी ३ सय ९४ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा भएका सवारी दुर्घटनामा ३ सय ७३ जनाको मृत्यु भएको थियो । २०७६/०७७ मा ३ सय ३२, २०७७/०७८ मा ४ सय ४४, २०७८/०७९ मा ५ सय ३१ जनाको मृत्यु भएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोका अनुसार गत वर्षमात्रै प्रदेशमा ३ हजार ८ सय २० सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १ हजार १ सय १४ जना गम्भीर र ५ हजार ३ सय ३५ जना सामान्य घाइते भएको जानकारी उनले दिए ।
महतोका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुर्घटनामा परेर ३ सय ९४ जनाको मृत्यु भएको छ । ३ हजार ३ सय ९२ वटा दुर्घटनामा ७ सय ७८ जना गम्भीर घाइते भएका छन् । गत वर्षको हालसम्म ५ सय १० जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परेर गत वर्षको तुलनामा १ सय १६ जना कमको मृत्यु भएको एसपी महतोको भनाइ छ । उनका अनुसार दुर्घटनामा ८, मृत्युमा २३.१७ र गम्भीर घाइतेको संख्यामा ३१.४७ प्रतिशतले कमी आएको छ ।
कोशी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरेर मंगलबारदेखि २०८० सालको ट्राफिक सप्ताह सुरु गरिएको छ ।
सडकमा लेन अनुशासनको पालना गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यसहित प्रदेश राजधानी विराटनगरमा सप्ताहको भव्य उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जनचतेनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने कार्कीले बताए । प्रत्येक व्यक्ति सचेत भए मात्रै दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाइ छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले सवारी दुर्घटना भयावह बन्दै गइरहेको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लंघन, चालकको लापरबाहीलगायत दुर्घटना न्यूनीकरणका चुनौती रहेको उनको भनाइ छ ।
अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण भइरहेको जनाइएको छ । १६ प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ ।
सडक प्रयोगकर्ताको असावधानीका कारण १२ प्रतिशत, चालकको मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा १० प्रतिशत र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना सवारी चलाउँदा ७ प्रतिशत दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ ।
प्रतिक्रिया