इलाम । श्रीमतीको हत्या गरी एक पुरुषले आत्महत्या गरेका छन् । माईजोगमाई २ टारसिंहका ५५ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए ।
राधिका पिताम्बरकी जेठी श्रीमती हुन् । बिहीबार राति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएका थिए ।
भित्र चुक्कुल लगाएको अवस्थामा राधिका भुइँमा लडिरहेको अवस्थामा देखिएकी थिइन् । त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरीक्षक मदन बस्नेतसहित ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी जौबारीबाट सहायक निरीक्षक धनप्रसाद रिमालसहित दुईजना पुगेका थिए ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको इलामका प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार राधिकाको बायाँ गालाको भागमा दुईवटा गहिरो चोट लागेको छ ।
घटनापछि घरमा ताला लगाएर निस्किएका पिताम्बर घरभन्दा करिब एक किलोमिटर उत्तरमा रहेको निबारोको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल सुरक्षित राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट पनि टोली पठाइएको छ ।
प्रतिक्रिया