विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा सेवा विस्तार र भौतिक सुधार सुरुआत भएको छ । सुधारका लागि अस्पताल विकास समितिले उल्लेख काम गरेको छ ।
सुधारका काम सुरुआत गरी अस्पताल विकास समिति तीन वर्षे कार्यकाल सकेर शुक्रबार बिदा भएको छ ।
महेश भट्टराई अध्यक्ष तथा शिल्पा निराला कार्की, मुकेश बुढाथोकी र देवा यादव सदस्य रहेको समितिलाई मन्त्रिपरिषद्को निर्णयबाट २०७७ असार २२ गते नियुक्त गरिएको थियो ।
कार्की हाल विराटनगर महानगरपालिकाकी उपमेयर छिन् । यो अवधिमा समितिका २४ वटा बैठकहरु भएका छन् । तीन वर्षे कार्यकालमा अस्पताल सुधार र सेवा विस्तारका २२ वटा काम गरिएको प्रगति विवरण समितिले सार्वजनिक गरेको छ ।
भौतिक संरचनाको विकासका लागि गुरु योजना तयार पार्ने, भवन निर्माण गर्ने र सेवालाई नियमित एवं प्रभावकारी बनाउन ‘ओएनएम सर्भे’ गरी एक हजार एक सय ४४ जना कर्मचारीको दरबन्दी कायम गराउन सफल भइएको समिति सदस्य बुढाथोकीले बताए ।
प्रगति विवरण सार्वजनिक गर्दै उनले अक्सिजन प्लान्ट, एचडीयू सेवा, आईसीयू र भेन्टिलेटर सेवा सुरु गरिएको जानकारी दिए ।
अस्पतालको उठ्न बाँकी सटर भाडा ८० लाखमध्ये ५५ लाख उठाइएको, मेडिकल कजेज सञ्चालन प्रक्रिया अघि बढाइएको, ३ अर्ब ३३ करोडमा १० तले भवन निर्माण कार्य सुरु गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । अस्पतालको जग्गा खाली गराएर नयाँ भवन निर्माण सुरु गरिएको जानकारी उनले दिए ।
विकास समितिबाट भएका सबै निर्णय कार्यान्वयन गरिएको समिति सदस्य देवा यादवले जानकारी दिए । अस्पताल सुधारमा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै नागरिक दैनिकका पत्रकार चुमन बस्नेतलाई नगद १० हजारसहित सम्मान तथा पुरस्कृत गरिएको छ । त्यस्तै, अस्पतालका चिकित्सक चन्द्रप्रकाश यादवसहितलाई सम्मान गरिएको छ ।
पीसीआर मेसिन व्यवस्थापन, सटरको भाडा असुली तथा सटर खाली, आईसीयू र आकस्मिक भवन निर्माण, विभिन्न भवन निर्माणका लागि गुरु योजना तयार, कोरोनाका बिरामीको उपचार, आईसीयू, एनआईसीयू, भेन्टिलेटर, युरो र न्यूरो सर्जरी सेवा सञ्चालन, कर्मचारीलाई श्रम ऐन अनुसार तलबको व्यवस्था, ज्यालादारी कर्मचारीको तलब वृद्धिलगायत काम गरिएको बुढाथोकीले बताए ।
नियमित विद्युत सेवाका लागि ट्रान्सफर्मर जडान, आँखाको शल्यक्रिया सेवा सञ्चालन, प्रभावकारी एवं छिटोछरितो सेवाका लागि अस्पतालको स्तरोन्नति, बिमा काउन्टर र फार्मेसी व्यवस्थापन, विभिन्न संघ संस्थाले ६१ वर्षदेखि अनधिकृत रूपले ओगटेको जग्गा खाली गराउनेसमेतका काम समितिले गरेको छ ।
कोशीमा ३ वर्षको अवधिमा ५ जना मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । डा. चुमनलाल दास, यज्ञराज खरेल, लक्ष्मीनारायण यादव, रविनराज सिंह यसअघि मेडिकल सुपरिटेन्डेन्ट थिए । अहिले उक्त जिम्मेवगारीमा डा. चन्द्रभाल झा मेसु छन् ।
प्रतिक्रिया