मुख्यमन्त्री नियुक्तिविरुद्ध रिटको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

आइतबार, २४ असार २०८०
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको प्रारम्भिक सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा हुने भएको छ । सुनुवाइका लागि आज पेशी तोकिएको छ । कोशीमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरी नयाँ सरकार गठन गरिएको भन्दै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । सरकार गठनमा सभामुखलाई समावेश गर्नु संविधान विपरीतको कार्य भएको भन्दै रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, नवनियुक्त मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । रिटमा एमालेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा. सूर्य भण्डारी, बाबुराम दाहाललगायतले बहस गर्ने भएका छन् । संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न एमालेको माग छ । उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभाबाट बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने कानुनी व्यवस्था छ । उपधारा ३ अन्तर्गत प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । प्रदेश प्रमुख खापुङले कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई गत बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए । गठबन्धनका तर्फबाट कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजादी) का ४ तथा जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य एवं सभामुख बाबुराम गौतमको समर्थन लिएर पुगेका थापालाई खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार