विराटनगर । सार्वजनिक यातायातको क्षेत्रलाई लागूऔषध मुक्त बनाउन कोशी प्रदेशमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । चालकले लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइन थालेपछि नियन्त्रण गर्त सक्रियता बढाइएको हो ।
विभिन्न स्थानमा परीक्षण गर्दा चालकले लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको थियो । चालक, सहचालक तथा परिचालकलाई लक्षित गरेर आइतबारदेखि ट्राफिक प्रहरीले जाँच सुरु गरेको छ ।
कोशीी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले झापाको काँकडभिट्टामा अभियानको उद्घाटन गरे । उनले सार्वजनिक सवारीको क्षेत्रलाई सुरक्षित बनाउन र बढ्दो दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने अपेक्षा गरिएको बताए ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोका अनुसार प्रदेशका १४ वटै जिल्लामा अभियान एकसाथ सुरु गरिएको हो । १४ वटा जिल्लाका विभिन्न २० स्थानमा अभियानको सुरु गरिएको उनले बताए ।
विराटनगरमा पनि लागू पदार्थ सेवन (लापसे) जाँच अभियानको सुरु गरिएको छ । अभियान उद्घाटन गर्दै मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सार्वजनिक सवारीसाधनका कर्मचारीलाई लक्षित गरी लापसे जाँच अभियान सुरु भएको जनाए ।
ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने जाँचले सवारी चालकले मापसे गरे, नगरेको पत्ता लाग्छ । मापसेसँगै अब लापसे अभियान पनि सुरु गरिएको हो । कोशीमा दुर्घटना न्यूनीकरण एवं सडकमा लेन अनुशासनको पालना गराउन ट्राफिक सप्ताह पनि चलिरहेको छ ।
मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुनीलकुमार श्रेष्ठका अनुसार जाँचबाट चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे, नगरेको पत्ता लाग्छ । श्रेष्ठका अनुसार लागूऔषधको सेवनका कारण समाजमा विभिन्न अपराधिक घटना पनि बढिरहेका छन् । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवनसम्बन्धी जाँच गर्ने गरिएको उनले बताए ।
जाँचका लागि आवश्यक किट मोरङमा ट्राफिक प्रहरीलाई नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले उपलब्ध गराएको छ । किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागूऔषध सेवन गरे, नगरेको पत्ता लाग्ने श्रेष्ठले बताए ।
प्रतिक्रिया