विराटनगर । प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापना गरिने भएको छ । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले सोमबार यससम्बन्धी निर्णय गरेको हो ।
मुख्यमन्त्री उद्धव थापाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।
लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले बताए । निजामती ऐन परिमार्जन गर्ने निर्णय पनि भएको उनले जनाकारी दिए ।
कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय पनि गरिएको छ ।
बाढी र पहिरोलगायत दैवीप्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको सुनुवारले बताए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जीवन आचार्य तथा बिना विभागीय मन्त्रीहरु सुनुवार, राजेन्द्र कार्की, कमलप्रसाद जबेगू र रामकुमार खत्री सहभागी थिए ।
प्रतिक्रिया