बिश्वकप महाभिडन्त:उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

आइतबार, ०३ पुस २०७९
जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । फाइनल खेल लुसेल आइकोनिक स्टेडियममा हुने छ । यसअघि भएको सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जिते पछि अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेस्सीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । फेरि एक पटक मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेस्सीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ । फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई पटक (सन् १९५८ र सन् १९६२) मा उपाधि जितेको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार