वडा सचिवको विरोधमा वडाध्यक्ष धर्नामा

मंगलबार, २६ असार २०८०
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रोहित प्रसाई धर्नामा बसेका छन् । वडा सचिवले समयको पालना नगरेको भन्दै आन्दोलन स्वरुप नगरपालिकाबाट वडाध्यक्ष प्रसाईले सेवा प्रवाह शुरु गरेका हुन् । वडा सचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको प्रसाईको दावी छ । वडा सचिव कहिले पनि विहान कार्यालय समय १० बजे उपस्थित नभएको र ८ घण्टा काम समेत नगरेको वडाध्यक्ष प्रसाईले आरोप लगाएका छन् । वडाध्यक्ष प्रसाईले मंगलवार विहानदेखि नगरपालिकाको कार्यालयबाटै वडाको सेवा दिएका हुन् । समयमा कर्मचारी नआउदा सेवाग्राहीलाई दुख भएको, वडाको कामकारबाही प्रभावित भएको उनको भनाई छ । प्रसाईले भने, ‘काम नगरेको समयको तलव कटौती गरेर नगरको खातामा जम्मा नगरेसम्म नगर परिसरबाटै सेवा दिन्छु ।’ उनले कुनै पनि कर्मचारीहरुले समयको पालना गर्नुपर्ने बताएका छन् । वडा सचिवको विषय मात्र होइन, सबै कर्मचारीले समयको पालना गर्नुहोस् भन्ने खवरदारीका लागि आफुले रचनात्मक दवाव दिएको हुँ, प्रसाईले भने । वडा सचिव पोखरेलले समयको पालना गरेको दावी गरेका छन् । वडाध्यक्षले समयको पालना नगरेको भन्ने विषयको आरोप झुटो भएको बताए । काजमा जाँदा, छुट्टि बस्दा हाजिर नगरेको हुन सक्छ, पोखरेलले भने – मसँग उहाँलाई के कुरामा चित्त नबुझेको हो थाहा छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार