१ हजार ३ सय ९६ मिटर उचाइमा रहेको यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ ।
रोङ गाउँपालिकास्थित पर्यटन सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार सामान्य भौतिक संरचनाहरुको निर्माण भएपछि भारतीय पर्यटकहरुले झण्डीडाँडा रमाइलो गन्तब्य बनाएका छन् । ‘तराईको गर्मी छल्न भारतको दार्जिलिङ, मिरिक र खरसाङ उक्लिएका पर्यटकले झण्डीडाँडा पनि रोज्न थालेका छन् । साइकल यात्रीहरु समूह बाँधेर यहाँसम्म आइपुग्छन् । देश विदेशमा थप प्रचार गर्न सके यस स्थान पूर्वी नेपालको अर्गानिक गन्तब्य बन्ने निश्चित छ,’ घिमिरेले भने ।
झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर र मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको यो स्थान तराई र पहाड दुवै तर्फबाट पायक पर्ने गन्तब्यका रुपमा झन्डीडाँडाले पख्याती कमाउन थालेको छ । झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।
झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम–स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्योदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया