त्यसबेला मुख्यमन्त्री राईले धनकुटालाई सहायक राजधानीको रुपमा विकास गर्ने दिएको भाषण घिमिरेले संझिए । ‘मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई अधिकार र स्रोत साधनयुक्त बनाएर पहाडी जिल्लामा संचालित विकास आयोजना र प्रशासनिक कामलाई गतिशिल बनाउने उनको प्रतिबद्धता थियो, तर कार्यान्वयन गरेनन् ।’ दुर्गममा बस्ने नागरिकका गुनासा सुनेर सम्पर्क, समन्वय, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन कार्यालय खोलिएको बताउने राईले त्यसपछि आफ्नो साढे तीन वर्षे कार्यकाल यो कार्यालयमा पाइला नटेकेको डाक्टर खगेन्द्र कटवालको गुनासो छ । कटवालले धनकुटालाई मात्रै नभएर कोशी प्रदेशका समग्र हिमाली र जिल्लालाइनै उपेक्षा गरिएको बताए । ठूलो जनसंख्या र भूगोललाई मात्रै हेर्ने दृष्टिदोषको नतिजा भएको बताए । यहाँबाट प्रदेशको प्रशासनिक सेवा प्रवाह भए, धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर र ताप्लेजुङका नागरिकलाई समेत सहज हुने उनको बुझाइ छ । धनकुटाको तेलियामा जन्मिएका एमाले नेता भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेपनि उनि यो कार्यालयमा पुगेनन् । आचार्यपछि मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका राजेन्द्र राइ एकपटक यो कार्यालयमा छिरे ।
उनले पनि शेरधन राइले झै विकासका दृष्टिले हिमाली र पहाडी क्षेत्र हेपिएको भन्दै यहि कार्यालयबाट प्रदेश हाक्ने दोहो¥याएका थिए । कार्यालयको परिषरबाट निस्कने बित्तिकै उनले त्यो प्रतिबद्धता बिर्सिए । एमालेका हिक्मतकुमार कार्की दुइपटक र काँग्रेसकातर्फबाट उद्धब थापाले मुख्यमन्त्रीको कार्यभार सम्हाले । तर ति दुवै मुख्यमन्त्रीले आफ्नो कार्यकालमा यहाँ आउँन जरुरी ठानेनन् ।
मुख्यमन्त्री नै नआएपछि प्रमुख अन्य विभागिय मन्त्री र प्रमुख सचिवले यहाँ पाइलो राखेका छैनन् । धनकुटा देब्रेबासका जगनाथ रिजाल भन्छन्, ‘मन्त्री नै नआएपछि कर्मचारीलाई के चासो ।’ रिजालले भने, राजनीतिक र प्रशासनिक नेतृत्व यहाँ देखिएको छैन, प्रहरी त थिए तिनै पनि अहिले छैनन् ।
एमाले धनकुटाका नेता नैन बिश्वकर्मा धनकुटा र कोशी पहाडी जिल्लाका नागरिकको भावनालाई दलका नेताले सम्बोधन गर्न नसकेको बताउँछन् । भन्छन्, ‘सबै नेताका मुखमा बिकेन्द्रीकरण छ, ब्यबहारमा छैन् ।’ अहिले फेरी नेपाली काँग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् । कार्यालयको सुरक्षामा रहेका प्रहरी हटाइएको छ । सम्पर्क कार्यालयको पुरै जिम्मा एकजना कार्यालय सहयोगीलाई लगाइएको छ । जंगल बढेर मुख्यमन्त्री आवास क्षेत्र ढाकेको छ । मर्मतसम्भार र सरसफाइ गरिएको छैन् । राजनीतिक दल र प्रदेश सरकारको नेतृत्व उदासीन हुँदा विकास आयोजनाको प्रभावकारी कार्यान्वयन तथा चुस्त प्रशासनिक कार्यसम्पादनको उद्देश्य राखेर खोलिएका मुख्यमन्त्री सम्पर्क कार्यालयको सेवा निष्प्रभावी छ ।
प्रतिक्रिया