फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई प्रशिक्षणमा फर्कने क्रममा गार्ड अफ अनरले सम्मानित
विश्वकप उपाधि जितेपछि बिदा लिएर बुधबारबाट प्रशिक्षणमा फर्किएका मेस्सीलाई पिएसजीका खेलाडी, प्राविधिक टोलीसँगै क्लबका अन्य कर्मचारीले प्रशिक्षण गर्न जाने क्रममा सम्मान गरे । गार्ड अफ अनर दिनुलाई खेलकुदमा च्याम्पियनको विशिष्ट सम्मान गरेको मानिन्छ ।
गत महिना कतारको दोहामा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । फ्रान्सेली क्लब पिएसजीसँग सम्झौताको अन्तिम वर्षमा रहेका मेस्सीले उपाधिको खुसियाली मनाउन बिदा लिएका थिए । फाइनलमा आफ्नै क्लब सहकर्मी एमबाप्पे सम्मिलित फ्रान्सलाई मेस्सीको टोलीले पछि पारेको थियो । एमबाप्पे भने फाइनल सकिएको तीन दिनपछि नै प्रशिक्षणमा सहभागी रहेका थिए ।
मेस्सी अनुपस्थित रहँदा पिएसजीले लिगको दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो । स्ट्रासबर्गविरुद्ध खेलमा पिएसजीले २-१ को कठिन जित दर्ता गर्दा नेयमारले रातो कार्ड खाएका थिए । त्यसपछि लेन्सविरुद्ध मेस्सी र नेयमार दुवै अनुपस्थित रहँदा पिएसजी ३-१ ले पराजित भएको थियो । उक्त हार पिएसजीले जारी सिजन भोगेको पहिलो हार पनि थियो ।
पिएसजीले अब शुक्रबार राती फ्रेन्च कपको खेलमा तेस्रो श्रेणीको एलबी चाटेअरोको सामना गर्दैछ । उक्त खेलमा मेस्सी उपलब्ध हुने नहुने पक्का भइसकेको छैन ।
प्रतिक्रिया