विराटनगरबाट एक सय ९६ किलो गाँजा बरामद, कारोबारीको खोजी जारी

विहीबार, ०७ मंसिर २०८०
विराटनगर । प्रहरीले विराटनगरबाट बिहीबार बिहान एक सय ९६ किलोग्राम गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका–१८ बाट प्रहरीले बिहान ३ बजेतिर ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो । तर, यसको कारोबार, ओसारपसार र भण्डारणमा संलग्न भने भेटिएनन् । कारोबारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । प्लाष्टिकको झोलामा पोको पारी खेतमा परालभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी दाहालले दिए । विशेष सुराकीका आधारमा गाँजा बरामद गरिएपनि यसको ओसारपसार र भण्डारणमा संलग्नको भने पहिचान हुन बाँकी रहेको उनको भनाइ छ । गाँजा कसले ल्याएको हो भनेर पत्ता लगाउने प्रयास भइरहेको डीएसपी दाहालले बताए । उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर राखिएको छ । रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएर गाँजाको कारोबार एवं ओसारपसारमा संलग्नको खोजी तीव्र पारेको छ । अवैध धन्दामा संलग्नले भारत कटाउनका लागि खेतमा भण्डारण गरेर गाँजा राखेको हुनसक्ने प्रहरीको अनुमान छ । धनकुटा, भोजपुरलगायतका पहाडी जिल्लामा उत्पादन हुने लागूऔषध गाँजा तस्करीमा संलग्नले सुरक्षाकर्मीलाई छलेर अवैध हिसाबले भण्डारण गर्दै भारततर्फ कटाउने गरेका छन् । भारतमा गाँजाको माग र मूल्य उच्च रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार