विराटनगर । विराटनगरमा रहेको एउटा कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी पसलमा दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
अन्य घाइतेमध्ये ३ जना अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरोमा र १ जना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पुर्याएको थियो ।
मृतक र घाइते कवाडी गोदामकै कामदार रहेको जनाइएको छ । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र एक जना मानिस जलिरहेको देख्न सकिन्छ । तर, आगो नियन्त्रणमा नआएकाले उद्धार गर्न सकिएको छैन ।
कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया