विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा जलेर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
आगलागीमा परेर विराटनगर महानगरपालिका–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका थिए ।
आगोले जलेर घाइते भए हुनेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको हो । नेपाली सेनाको स्काई ट्रकमार्फत सबै घाइतेलाई काठमाडौं लैजान लागिएको हो । त्यसअघि घाइतेको न्युरो र कोसी अस्पतालमा उपचार भइरहेको थियो ।
विराटनगर–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परेर २ जनाको मृत्यु भइसकेको छ ।
विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको दाहालले बताए ।
जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा भेटिएको छ । मृतकको पहिचान खुल्न सकिरहेको छैन । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको अवस्थामा ती मलिलालाई देखिएको थियो । चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो ।
आगो साँझ ५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको छ । विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रणमा लिएका हुन् ।
डीएसपी अनुसार आगोले जलेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया