विराटनगर आगलागी, ४० लाखको क्षति, घाइतेलाई लगियो काठमाडौं

बुधबार, २० मंसिर २०८०
विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ रातघुम्तीमा अन्जुला कवाडी र रिया ट्रेडर्स नामको कवाडी गोदाममा आगो लागेको हो । गोदाममा रहेका कवाडीका सामानहरु आगोले जलेर ध्वस्त हुँदा २५ लाख र नजिकैका घरमा आगोले भेट्दा १५ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार गोदामनजिक रहेको नरेश राठी र महेश राठीको घरको कोठामा रहेका १० वटा एसी, झ्यालका पल्लालगायत आगोले जल्दा १५ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागी हुँदा कवाडी गोदाम र छेउमा रहेका घरमा गरेर ४० लाख बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । उनका अनुसार घटनाका बारेमा प्रहरीले थप बुझ्दै छ । बुधबार दिउँसो २ः१५ बजेतिर सुरु भएको आगो विभिन्न ठाउँबाट आएका दमकल, स्थानीय, प्रहरीसमेतको सहयोगमा साँझ ५ बजेतिर पूर्णरूपले नियन्त्रणमा लिइएको थियो । आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परेर विराटनगर–७ का अन्दाजी ४० वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । मृतक मण्डल कवाडी गोदामका सञ्चालक भएको बताइएपनि प्रहरीले पुष्टि गरिसकेको छैन । जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा फेला परेको छ । मृतकको पहिचान खुलेको छैन । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर गोदामभित्रै महिलाको मृत्यु भएको हो । दुवै शवलाई कोसी अस्पतालमा राखिएको छ । आगलागीमा परेर घाइते भएकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए । आगोले जलेर विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका छन् । घाइतेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । घाइतेहरुलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पताल लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत सबै घाइतेलाई साँझ काठमाडौं लगिएको हो । आगोले जलेर दुईवटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ । गोदामभित्र कामदारहरु काम गरिरहेको अवस्थामा एक्कासि आगो लागेको जनाइएको छ । मुख्य गेटबाटै आगो लागेका कारण कामदारहरु बाहिर निस्किन नपाउँदा मानवीय क्षति हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार