विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्ने माग राख्दै सचेतना र्‍याली

शुक्रबार, २२ मंसिर २०८०
इटहरी /सुनसरीको इटहरी २० तरहरामा रहेको जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्ने माग राख्दै सचेतना र्‍याली निकालेका छन् । शुक्रबार एक कार्यक्रमबीच विद्यालय वरपरका क्षेत्रमा सचेतना र्‍याली निकालिएको हो । विद्यालयमा गठन भएको बाल क्लब र ग्रीन क्लबको आयोजनामा विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्ने मागसहित र्‍याली सम्पन्न गरिएको थियो । विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नहुने, चर्को ध्वनीमा सवारी साधनका हर्न बजाउन नपाइने तथा स्थानीय क्षेत्रमा भएका धार्मिक कार्यक्रमका ध्वनिले विद्यालय क्षेत्र प्रभावित भएको प्रधानाध्यापक जनक बस्नेतले बताए । सोही कारण विद्यार्थीको पठनपाठनमा प्रभावित हुन नदिनका लागि सचेतना र्‍याली निकालिएको उनले बताए । क्लबकी अध्यक्ष सरस्वती कार्की, शिक्षक नायक चूडामणि खतिवडा, ग्रीन क्लबका अध्यक्ष विकास निरौला र शिक्षक नायक देवकुमारी राईले र्‍यालीका लागि सहजीकरण गरेका थिए । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने सन्देश दिनका निम्ति पनि उक्त कार्यक्रमको आयोजना गरिएको शिक्षक चूडामणि खतिवडाले बताए । र्‍याली कार्यक्रममा इटहरी २० का जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, तरहरा प्रहरी चौकीका प्रतिनिधिहरूसहित स्थानीय सरोकारवाला निकाय सहभागी भएको शिक्षक योगेन्द्र निरौलाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार