‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विहीबार, ०५ पुस २०८०
विराटनगर । विराटनगर महानगरपालिका–२ मा आयोजना गर्न लागिएको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को सबै तयारी पूरा भएको छ । आयोजक मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी सकिएको जानकारी दिएको हो । शुक्रबारदेखि आगामी पुस १६ गतेसम्म आयोजना हुने ‘एक्स्पो’को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन् । संघका अध्यक्ष नवीन रिजालका अनुसार ‘एक्स्पो’मा ४ देशमा उत्पादन भएका २ सय ४० स्टलहरु रहने छन् । मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरुको स्टल राखिने भएको हो । रिजालका अनुसार ‘एक्स्पो’ले स्वदेशी उद्योग व्यवसायको प्रवर्धन, नेपाल व्यापार रणनीति अन्तर्गत  पहिचान गरिएका कोशी प्रदेशका अधिकांश वस्तुसहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना गर्ने विश्वास छ । उनले ‘एक्स्पो’मा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै कोशी प्रदेशको महत्व झल्कने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनी हुने बताए । उनका अनुसार सुनसरी–मोरङ आर्थिक करिडोरको प्रवर्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । मेला अवधिभरमा करिब १० करोडको कारोबार हुने र ४ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । रिजालका अनुसार मेला आयोजना गर्दा ४ करोड खर्च हुने अनुमान छ । दर्शकहरुलाई मनोरञ्जनका लागि सांस्कृति कार्यक्रम, सेल्फी जोन, किड्स जोन, ५५ फिट अग्लो आइफिल टावरको आकृति निर्माण गरिएको उनले बताए । ३० हजार वर्ग फिटको जर्मन प्रविधिको हेंगरमा निर्मित २ सय ४० वटै स्टलहरु ‘बुक’ भइसकेको जानकारी उनले दिए । ‘एक्स्पो’लाई थप आकर्षक बनाउन पशुपतिनाथ र स्वयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो प्रवेशद्वार तयार पारिएको छ । मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उदेश्यले व्यापारिक मेलाको आयोजना गरिएको जानकारी अध्यक्ष रिजालले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार