मन्त्री फेरेर जनताका काम पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

शुक्रबार, ०६ पुस २०८०
विराटनगर । मन्त्री फेरेर भएपनि जनताका कामलाई पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेका छन् । अब नयाँ ढंगबाट विकास निर्माण र जनताका सेवाका कामलाई अगाडि बढाउने प्रतिबद्धता उनले गरेका हुन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पुस १० गते १ वर्ष पूरा हुन्छ । त्यो दिन राष्ट्र र जनताका नाममा ठूलो सम्बोधन गर्दैछु,’ उनले भने, ‘अर्को वर्ष अर्थात पुस ११ गतेबाट जनताका सेवाका कामहरु नयाँ ढंगले अगाडि बढाएर लैजाने प्रतिबद्धता व्यक्त गर्छु । पूरा नभएका कामलाई मन्त्री फेरेर भएपनि गति दिइने छ ।’ आफूले प्रतिबद्धता व्यक्त गरेर सहमति जनाएका काम कतिपय मन्त्रालयले पूरा नगरेको उनले बताए । सहमति पूरा नगर्ने मन्त्रालयका मन्त्री फेरेर कामलाई अगाडि बढाउने उनको भनाइ छ । दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने कुरामा आफूले धेरै भूमिका खेलेको दाबीसमेत गरेका छन् । कोशी प्रदेशको पहिचान र नामकरणको विषयमा जनताले गरेको चिन्ता आफूलाई राम्रोसँग थाहा भएको उनले बताए । ‘सबैको पहिचान र अधिकारको लडाइँ लड्नुपर्छ भनेर नेतृत्व गर्ने पार्टी एवं त्यसको नेताको हैसियतले यहाँका जनताको चिन्ता र चासोलाई सबै दलसँग एवं आन्दोलनरत पक्षसँग संवाद गरेर सकारात्मक ढंगले समाधान गर्न मेरो पहल रहन्छ,’ दाहालले भने । उनले लाबा खोला वृहत खानेपानी आयोजना, चुलाचुली–मिक्लाजुङ–लेटाङ वैकल्पिक मार्ग निर्माण तथा उर्लाबारी–मधुमल्ला–दाह्रेगौंडा पक्की सडक निर्माणको अधुरो सपना पूरा गर्न आफूले पहल गर्ने पनि बताए । ‘मोरङको पथरीशनिश्चरेमा सुकुम्बासीको निक्कै ठूलो समस्या छ । यो मैले बुझेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘योपटक सुकुम्बासी समस्या समाधान गर्न ऐनमा भएका बाधा फुकाउने र लालपूर्जा बनाउने प्रक्रिया सुरु गरिसकेको छु । देशभरकै सुकुम्बासी समस्या समाधान हुन्छ ।’ सरकारले खरिद गरेको दूधको बाँकी पैसा तिर्ने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । दूधको बाँकी ऋण तिर्न र सहुलियतामा ऋण उपलब्ध गराउन पहल गर्ने विश्वास दाहालले दिलाए । शान्ति प्रक्रियाका बाँकी काम सकिनेवित्तिकै मिक्लाजुङको ऐतिहासिक महत्वलाई ध्यान दिँदै स्मारक बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार