दाहालका अनुसार स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ भनेर ३ जना युवाहरुले ललाईफकाई साइकलमा राखेर लगेको पाइएको छ । भाथीगछ–हरिनगराको गुरुङ टोलमा पुर्याएपछि साइकलदेखि ओरालेर मोटरसाइकलमा राखी मास्क लगाएर विभिन्न स्थान हुँदै बालकलाई विराटनगर महानगरपालिका–१५ स्थित खाकीबाबा मन्दिरनजिकको यादव निवासमा लगेर राख्न खोजेको प्रहरीले जनाएको छ ।‘यादव निवास लेखिएको घरमा राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको पाइएको छ । बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले होहल्ला गरेछन्,’ डीएसपी दाहाल भन्छन्, ‘घटना थाहा पाउनसाथ पुगेको प्रहरीले बालकको सकुशल उद्धार गरेको छ । बालकलाई मोटरसाइकलमा बसाएपछि मिलन चोक, झोलुंगे पुल हुँदै विराटनगर–१८ र विराटनगर– १४ को बाटोबाट विराटनगर–१५ स्थित यादव निवास लेखेको घरमा पुर्याइएको रहेछ । ’ डीएसपी दाहालका अनुसार प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्न भने फरार भएका थिए । बालकका बुवा एवं जहदा–१ का वडाध्यक्ष बाबुरामले छोराको अपहरणमा संलग्नलाई कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् । पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । डीएसपी दाहालले विस्तृत अनुसन्धानपछि बालकलाई अपहरण गर्नुपर्ने कारण पत्ता लाग्ने बताए । बालकलाई भारत पुर्याएर बन्धक बनाउने र फिरौती लिने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको वाट्सएपमा कुरा गरेको पाइएको छ । अपहरणको मुख्य योजनाकार नै भारतीय नागरिक हुन सक्ने आशंका प्रहरीको छ । अपहरणको मुख्य योजनाकारका बारेमा खुल्न बाँकी रहेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए । प्रहरी स्रोतले भने अभिभावकसँग फिरौती रकम असुल्नकै लागि बालकको अपहरण गरिएको दाबी गरेको छ । ‘तत्काल प्रहरी पुगेर उद्धार गर्न नसकेको भए बालकलाई भारत पुर्याउने रहेछन्,’ स्रोतले भन्यो, ‘घटनाको प्रकृति हेर्दा फिरौतीको ‘बार्गेनिङ’ गर्न बालकको अपहरण गरेजस्तो देखिन्छ । ’ तर, बालकको उद्धार गर्न प्रहरी सफल भएसँगै अपहरणकारीले उनलाई भारत लैजान भने पाएनन् । बेलैमा बालकको सकुशल उद्धार गर्न सफल भएको प्रहरीले अपहरणमा संलग्नलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको डीएसपी दाहालले बताए ।
प्रतिक्रिया