नेपाली युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने भारतीय नागरिक विराटनगरबाट पक्राउ

शनिबार, २८ पुस २०८०
विराटनगर । अश्लिल भिडियो खिचेर नेपाली युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जोगवनीका २६ वर्षीय रवि कुमार रहेका छन् । उनलाई प्रहरीले विराटनगरको महेन्द्र चोकबाट शुक्रबार पक्राउ गरेको हो । रवि कुमारमाथि सामाजिक सञ्जालमार्फत नजिक भएर ‘ब्ल्याकमेल’ गर्दै नेपाली युवतीहरुलाई बारम्बार यौन शोषण गरेको आरोप छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पक्राउ गरिएका भारतीय नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि काठमाडौं पठाइएको जानकारी दिए । पीडित युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी दिएको प्रहरीको भनाइ छ ।
जाहेरीका आधारमा पक्राउका लागि अदालतबाट अनुमति लिएको प्रहरी विराटनगर आएका बेला उनलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार रवि कुमारले भारतीय बजार जोगवनीमा बसेर सामाजिक सञ्जालमार्फत अनलाइनमा सम्पर्क बढाएर नेपाली युवतीलाई ट्रयापमा पार्दै बारम्बार यौन शोषण गर्ने गरेको पाइएको छ ।
युवतीसँग सम्पर्क बढाएर होटलमा बोलाउने र यौन शोषण गर्ने तथा यौन सम्बन्ध बनाएको भिडियो खिचेर ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबाट पीडित हुने युवतीको संख्या १५ जनाभन्दा धेरै छ । उनी पक्राउ परेपछि पीडितको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनले ‘ब्ल्याकमेल’ गर्दै ट्रयामा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए । तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन् । एकपटक यौन सम्बन्धमा बसेका किशोरीको भिडियो बनाएर उल्टै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार अनलाइनमार्फत नजिक भएर साथी बनाएपछि यौन सम्बन्ध राखेर अश्लिल भिडियो बनाउने र युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको हो । अश्लिल भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिन थालेपछि न्याय माग्दै पीडितहरु प्रहरीमा पुगेको जनाइएको छ । रवि कुमारले सामाजिक सञ्जालमा अश्लिल भिडियो ‘अपलोड’ गरिदिने धम्की दिँदै आफ्ना लागि हवाई टिकट काट्न र होटलका कोठा बुक गर्न लगाउने गरेको प्रहरीको भनाइ छ । त्यसवापतको सबै खर्च उनले युवतीलाई नै तिराउने गरेको पाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकले दिएको तनावका कारण कतिपय युवतीहरु आत्महत्या गर्ने मनस्थितिमा समेत पुगेको पाइएको छ । पहिलोपटक भने उनले आफ्नै खर्चमा युवतीलाई बोलाउने गरेका थिए । त्यसपछि यौन सम्बन्ध बनाएको भिडियो खिचेर ‘ब्ल्याकमेल’ गरेर पैसा माग्ने तथा भेट्दा बोलाएका बेला भएको सबै खर्च युवतीलाई तिराउने गरेको यकिन भएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीका अनुसार उनीबाट पीडित हुने युवतीहरु धेरै काठमाडौंका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन काठमाडौं प्रहरी परिसरले घटनाको अनुसन्धान थाल्ने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार