विराटनगर । विराटनगरको क्यासिनोमा नेपालीले खुलेआम प्रवेश पाउने गरेको रहस्य बाहिर आएको छ ।
रत्ना होटेलमा ‘सम्राट्’ र बिग होटेलमा ‘च्याम्पियन जोन’ गरेर विराटनगरमा दुई वटा क्यासिनो सञ्चालनमा छन् । कानुनले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेको छ ।
विदेशी नागरिकले मात्रै प्रवेश पाउँछन् । तर, दुवै क्यासिनोमा कानुन विपरीत निर्बाध प्रवेश गराएर नेपालीलाई जुवा खेलाउने गरिएको खुलेको छ ।
क्यासिनोमा नेपाली उद्योगी, व्यापारी तथा युवाहरूले खुलेआम प्रवेश पाउने गरेका हुन् । क्यासिनोमा प्रवेश गर्न विदेशी नागरिक पुष्टि हुने ‘आइडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियम छ । तर, जुवा प्रेमी नेपालीले क्यासिनोलाई मनोरञ्जन स्थल बनाएर लाखौँ रुपैयाँ स्वाहा बनाइरहेका छन् ।
विराटनगरमा भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिएको क्यासिनो नेपालीले नै भरिभराउ हुने गरेको छ । पैसा कमाउनकै लागि सञ्चालकले पनि नेपालीलाई कुनै रोकटोक गर्दैनन् । नेपालीले प्रवेश पाउने वातावरण बन्नुमा सबै पक्षको मिलेमतोजस्तो देखिने स्रोतको भनाइ छ ।
क्यासिनोका एक कर्मचारी प्रदेश सरकार, स्थानीय प्रशासन, विराटनगर महानगरपालिकासमेतका निकायले समेत क्यासिनोको अनुगमनमा ध्यान नदिएको बताउँछन् ।
यसअघि विराटनगर महानगरपालिकाले क्यासिनोको अनुगमन गरेको थियो । नेपालीलाई प्रवेश गराउने गरेको सूचनाका आधारमा एक पटक अनुगमन गरेको महानगरले त्यसपछि फर्किएर पनि क्यासिनोतिर हेरेको छैन ।
स्रोतका अनुसार क्यासिनो सञ्चालकको प्रभावमा परेर महानगरले बेवास्ता गरिदिँदा नेपालीले खुलेआम प्रवेश पाइरहेका छन् ।
विराटनगरका क्यासिनोमा नेपालीलाई जुवा खेलाउने गरिएको उजुरी यसअघि ‘हेलो सरकार’मा परेको थियो । प्रहरी प्रधान कार्यालयले यस विषयमा छानबिन र कारबाही गरेर यथार्थ विवरण पेस गर्न मङ्सिर १० गते कोशी प्रदेश प्रहरी कार्यालयलाई लिखित निर्देशन नै दिएको थियो ।
प्रदेश प्रहरी प्रवक्ता एसपी ऋषिराम कँडेल छानबिनको विषय आफूलाई थाहा नभएको बताउँछन् । तर, नेपालीले क्यासिनो छिर्न र जुवा खेल्न नपाउने उनको भनाइ छ ।
यसैबिच, विराटनगर–११ स्थित सम्राट् क्यासिनोमा जुवा खेलेर निस्किएका विराटनगरका युवाहरूबिच शनिवार बिहानका राति १ः३० बजेतिर खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन् ।
विवाद गर्न थालेपछि युवाहरूको समूहलाई बाउन्सरले बाहिर निकालेका थिए । प्रत्यक्षदर्शीका अनुसार बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरूबिच खुकुरी र हेलमेट हानाहान भएको थियो ।
घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् । खुकुरी प्रहारबाट टाउको र देब्रे कानमा चोट लागेका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ ।
घटनामा संलग्न झापाको घैलाडुब्बा घर भई विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन् । घटनाको प्रकृति हेर्दा धारिलो हतियार नै प्रहार गरेजस्तो देखिने उनको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धानपछि प्रस्ट हुने दाहालले बताए ।
प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बरामद गरिसकेको छैन । दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथी साथी हुन् ।
‘कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए । जुवा खेल्ने क्रममा पैसा हार मारको विषयलाई लिएर साथी–साथीबिच नै विवाद भएको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘झगडा हुन थालेपछि क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकाले ।
त्यसपछि क्यासिनो परिसरमै उनीहरूबिच खुकुरी र हेलमेटले हानाहान हुन थाल्यो ।’ बाहिर निस्किएपछि सडकमा पनि उनीहरूबिच हानाहान भएको थियो ।
प्रहरी स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्न सँगै गएका किरण लिम्बूमाथि थपलियाले खुकुरी प्रहार गरेका थिए । छलिएर उनी जोगिए । त्यही खुकुरीले लागेर कँडेल घाइते भएका हुन् ।
घाइते अवस्थाका कँडेलले भने आफूमाथि नियोजित रूपमा खुकुरी प्रहार गरिएको बताए । ‘ट्रक व्यवसायी लक्ष्मी प्रसाईँसँग मेरो लेनदेनको विषय थियो । मलाई पैसा लिन आउनु भनेपछि म त्यहाँ पुगेको थिएँ,’ उनले भने ।
विक्रम थपलिया तथा लक्ष्मी प्रसाईँलगायतका व्यक्तिहरू पहिलादेखि नै क्यासिनोभित्र रहेको र आफू पुगेपछि खुकुरी प्रहार गरेको दाबी कँडेलको छ ।
डिएसपी दाहालले क्यासिनोमा जुवा खेल्नका लागि नेपालीलाई प्रवेश दिएको हो कि हैन भन्ने बारेमा पनि अनुसन्धान थालिएको बताए । उनका अनुसार क्यासिनोका सञ्चालकले झगडामा संलग्न युवाहरूलाई प्रवेश नदिएको बताएका छन् । तर, क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएको उनको भनाइ छ ।
उनका अनुसार एउटै समूहका युवाबिच झगडा भएको पाइएको छ । प्रहरीका अनुसार थपलिया र कँडेल आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन् । सट्टे बाजी फड्कामा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
काँग्रेस आबद्ध थपलियाको समूहलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका आपराधिक पृष्ठभूमिका गुन्डा नाइके अभिषेक गिरीको संरक्षण रहेको प्रहरीका अधिकारी बताउँछन् ।
प्रहरी स्रोतका अनुसार थपलियाले पनि आफू अभिषेक गिरीको मान्छेभन्दै व्यापारी, सरकारी कर्मचारी तथा प्रहरी अधिकारीलाई थर्काउने र अनावश्यक दबाब दिने गरिरहेका छन् । गिरीकै छत्रछायामा रहेर थपलियाले पछिल्लो समय विराटनगर र आसपासका स्थानमा आतङ्क मच्चाइरहेको प्रहरीको विश्लेषण छ ।
‘क्यासिनोमा जुवा खेल्ने क्रममा भएको झगडालाई केही समययता विराटनगरमा रोकिएको गुण्डागर्दी सुरु भयो रूपमा बुझ्न सकिन्छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘पछिल्लो समय मिटर ब्याजको धन्दा चलाउने, व्यवसायीलाई धम्क्याउने र आतङ्कित पार्ने गरेको छिटपुट सूचना आइरहेको छ ।
’ डिएसपी दाहालले भने घटनामा संलग्न र घाइते भएका युवाहरूको विगतको आपराधिक पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
सम्राट् क्यासिनोका मेनेजर लक्ष्मीप्रसाद सेडाईं भने क्यासिनोमा नेपालीलाई प्रवेश नदिने गरेको बताउँछन् । ‘क्यासिनोभित्र नेपाली छिर्न पाउँदैनन् ।
युवाहरूबिच क्यासिनोभित्र झगडा भएको हैन,’ उनले भने, ‘होटेलको पार्किङ क्षेत्र र बाहिर झगडा भएको रहेछ । रक्सी खाएर आएका युवा क्यासिनोभित्र छिर्न खोज्दा हामीले रोकेपछि बाहिर गएर झगडा गरेछन् ।
’ बाहिरबाट मदिरा सेवन गरेर आएका युवालाई क्यासिनोभित्र छिर्न नदिएको र नेपालीलाई प्रवेशमै प्रतिबन्ध लगाइएको दाबी सेडाईंको छ ।
प्रतिक्रिया