वराहक्षेत्रमा जङ्गली हात्ती मानव बस्तीमा पस्न नदिन साइरनसहित खटिन्छन् मेयर कार्की

शनिबार, २८ पुस २०८०
वराहक्षेत्र-सुनसरीको वराहक्षेत्र २ रेल्वेलाईनस्थित जङ्गलकै छेउमा ७३ बर्सिया टङ्कमाया घिमिरेको घर छ । जङ्गलबाट हात्ती बस्ती छिर्ने बाटोमै घर भए पनि उनले हात्तीले घरमा आक्रमण नगरोस् भन्ने कामनाले पुराणसमेत आयोजना गरेकी छन् । नरपति उनको घरमा हात्तीले क्षति पुर्‍याउन छाडेको छैन । हात्तीले आक्रमण गर्छ भन्ने डर मनमा भई पनि आत्मबल बढाउने प्रतिनिधि पाउँदा खुसी भएको उनी बताउँछिन् । हात्ती जङ्गलमा आएको थाहा पाउनसाथ उनी वराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीलाई मोबाइलमार्फत जानकारी गराउँछिन् । जङ्गलमा हात्ती आएको थाहा पाएपछि म मेयरलाई फोन गर्छु । उहाँले पनि कतै हात्ती आएको थाहा पाए मलाई जानकारी गराउनुहुन्छ । हात्तीको डरले मन काँपेपनि मेयरले आत्मबल दिनुहुँदा केही हदसम्म सहज भएको छ, उनले भनिन् । हात्ती गाउँमा आउन लाग्यो भन्ने थाहा पाउनसाथ साइरन भएको गाडीसहित मेयर स्वयम् उपस्थिति हुँदा जनप्रतिनिधि भएको महसुस हुने उनको भनाइ छ । घिमिरेले भनेजस्तै वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख कार्की हात्ती बस्तीमा पस्न लागेको खबर थाहा पाउनसाथ स्थानीयसँगै हात्ती खेदाउन मध्यरात पनि हात्ती प्रभावित क्षेत्र पुग्ने गरेका छन् । उनी फौजी शैलीमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयका वन संरक्षक तथा स्थानीयसँगै हात्तीलाई मानव बस्तीमा पस्न नदिन साइरनसहित खटिने गरेका छन् । स्थानीय प्रशासनलाई सक्रिय बनाएर सरोकारवाला निकायलाई जिम्मेवार बनाउन र स्थानीय जनताको आत्मबल बढाउन हात्ती प्रभावित क्षेत्रमा पुग्नाले स्थानीयबासीले प्रशंसा गर्न थालेका छन् । गत वर्ष हात्तीको आक्रमणबाट घाइते भएका वराहक्षेत्र नगरपालिका २ पुनर्वासका धुब्र बस्नेत हात्तीको आतङ्कबाट त्रास भए पनि नगर प्रमुख जनताको दुःखमा साथमा रहँदा आत्मबल बढेको बताउँछन् । हात्ती खेद्न मेयर आउँदा आत्मबल बढ्ने, क्षति भए सहयोग गर्नाले जनप्रतिनिधि भएको आभास हुने उनको भनाइ छ । जङ्गली हात्तीबाट वराहक्षेत्र नगरवासी सधैँ पीडित हुने गरेको नगर प्रमुख कार्कीको भनाइ छ । गत वर्षदेखि छावासहित आउने हात्तीको बथानले नगरवासीलाई त्रासमा पारेको उनी बताउँछन् । उनी भन्छन् हात्तीको आतङ्क हटाउन र जनधनको क्षति न्यूनीकरण गर्न नगरपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय र कोशीटप्पु वन्यजन्तु आरक्षसँग समन्वय गरेर काम गरिरहेको छ । जोखिममा रहेका बस्तीमा सचेतना तथा सजगता अपनाउन अनुरोध गर्ने, साइरन बजाउने लगाएको काम भइरहेको छ । नगरपालिकाले हात्तीको आतङ्क रोक्न काम गरिरहेको उनको भनाइ छ । गत वर्षदेखि छावासहित भारतबाट आएका हात्तीको बथानले नगरका वडा नं १, २, ३, ५ र ७ का जङ्गल नजिकैका बस्तीका स्थानीयहरूलाई सताउने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार