सुनसरी । नेकपा एमालेकी सांसद भगवती चौधरीले बैंक तथा सहकारीबाट लिएको ऋण नतिर्न उक्साउनेहरुले नियम कानुन विपरित समाजमा अराजकता फैलाइरहेको बताएकी छिन् ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सुनसरीको दुहवीमा आयोजित एघारौँ वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले लघुवित्त संस्थाहरुले पनि बचतकर्ता र ठूला बैंकहरुबाट कर्जा लिएरै ऋण प्रवाह गरेकाले कसैले ऋण तिर्नु पर्दैन भन्दैमा त्यस्तो भ्रममा पर्न नहुने बताइन् ।
उनले भनिन्, ‘ऋण लिएपछि त्यसको सहि सदुपयोग गर्नुपर्छ । एउटा विषयमा ऋण लिने खर्च अन्यत्र गर्दा समस्या हुन्छ । र, ऋण लिएपछि कसैले भन्दैमा तिर्दिन भन्न पाइन्न । यस्तो गर्दा मुलुककै अर्थतन्त्र ध्वस्त हुन्छ ।’
साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताइन् ।
गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरि लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने उनको भनाई थियो ।
त्यस्तै सभामा गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्वप्रमुख कार्यकारी प्रमुख आशनारायण चौधरीले यस लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले लघुवित्तको क्षेत्रमा देखिएको वित्तीय जटिलताहरु विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, तथा ग्राहक सदस्यहरुको संयुक्त प्रयासबाट लघुवित्त संस्थालाई नकारात्मक प्रभाव पार्न खोज्ने तत्व निस्तेज हुँदै गएको बताए ।
सो क्रममा उनले साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
भने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफारनोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई समेत पारित गरेको थियो ।
सभामा वित्तीय संस्थाले २०८० मंसिर मसान्तसम्म ४० जिल्ला अन्तर्गत ३८२ गाउँपालिकारनगरपालिकाका २ लाख ८५ हजार २१९ ग्राहक सदस्यहरुलाई १९ अर्ब ९८ करोड ६९ लाख २० हजार कर्जा प्रवाह गरेको जानकारी दिइएको थियो ।
प्रतिक्रिया