‘इटहरीमा घर नक्सा बनाउन फाइल बोकेर हिँड्नुपर्दैन ’

आइतबार, २९ पुस २०८०
इटहरी । अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरूलाई सजिलो हुन थालेको छ ।
 घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाइन प्रणालीबाट नै हुन थालेपछि नगरबासीहरुले फाइल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ ।
 एक वर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरवासीले नक्साको फाइलमा सही गराउन कोठा कोठा धाउँनुपथ्र्याे ।
प्रत्येक फाँटमा भिडभाड, लाइन बस्नुपर्ने, फाइल हराउने, फाइल तल माथि हुँदा लाइन बसेका व्यक्तिहरू बिच झगडा नै पर्थ्यो ।
 दैनिक जसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारी बिच भनाभन हुन्थ्यो । अलि बढी भिड भएको दिन त सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे ।
कार्यालयका कर्मचारीहरूलाई पनि सास्ती थियो । सेवाग्राहीको भीड र फाइलहरूको थुप्रोमा काम गर्नु उनीहरूको बाध्यता थियो । यस्तो तनावपूर्ण वातावरणमा कर्मचारीले काम गर्नुपर्ने अवस्था थियो ।
तर पछिल्लो ९ महिना यता नगरवासीले यस्तो सास्ती भोग्नु परेको छैन । उनीहरूको काम अनलाइनबाट नै हुन्छ । कर्मचारीले पनि सहज वातावरणमा काम गर्न पाएका छन् ।
इटहरी उपमहानगरपालिकाले गएको वैशाख महिना देखी घर नक्सा बनाउन अनलाइन प्रणाली सुरु गरेको छ ।
त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ ।
अनलाइन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए ।
अनलाइन प्रणाली राम्रोसँग सञ्चालन भइरहेको र यसले नगरवासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ ।
‘अहिले कुनै पनि नगरवासीले फाइल बोकेर उपमहानगरपालिका धाउनुपर्दैन, हिजो हामी सबैले जुन अप्ठ्यारो भोग्नु परेको थियो त्यो अहिले भोग्नुपर्दैन’ इन्जिनियर तिम्सिनाले भने ।
 
कुनै कानुनी उल्झन, छिमेकी साँधसदिँधयारको असहयोग वा भनौँ चार किल्ला क्लियर भएको अवस्थामा सिस्टममा अपलोड भएको फाइलको काम  १५ देखी २० दिन भित्रमा सम्पन्न हुने इन्जिनियर तिम्सिनाले जानकारी दिए ।
तर जग्गामा कुनै कानुनी उल्झन आयो भने त्यसलाई व्यवस्थापन, नाप जाँच गर्दा भने केही समय लाग्न सक्छ ।
पुराना फाइल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धित घरधनीलाई दिने योजना अनुसार काम भइरहेको उनले सुनाए ।
‘हामीसँग थुप्रै पुराना फाईहरु छन् । तिनीहरूलाई पनि डिजिटलाईज गर्ने काम अब केही समयमा सकिन्छ ।
त्यस पछि एक कपि फाइल सम्बन्धित घरधनीलाई बोलाएर हस्तान्तरण गर्ने हाम्रो योजना छ,’ इन्जिनियर कैलाश तिम्सिनाले भने ।
अनलाइन प्रणाली सुरु भएको वैशाख महिना देखी पुस महिना सम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिइसकेका छन् ।
प्लिन्थ लेभल सम्मको इजाजत पत्र लिनेको सङ्ख्या २३७ छ भने प्लिन्थ लेभल भन्दा माथिको इजाजत पत्र लिने घर धनीको सङ्ख्या २४३ रहेको छ । यो अवधिमा ४०६ जना घरधनीको घरको अभिलेखीकरण प्रमाण पत्र पनि वितरण गरिएको घर नक्सा शाखाले जानकारी दिएको छ ।
इटहरी ८ मा घर बनाउन सुरु गर्न लागेका रविन लम्सालले अनलाइन सिस्टम सुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताए ।
उनी अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन सुरु गर्दछन् । इजाजत लिन आफू फाइल बोकेर धाउनु नपरेको उनले सुनाए ।
लम्सालको घरको नक्सा उपमहानगरले निःशुल्क बनाइदिएको हो । उपमहानगरको घर नक्सा निर्माण शाखाले १ हजार स्वायौ फिट भन्दा कमका घरको निःशुल्क नक्सा बनाइदिने गरेको छ ।
  लम्सालले पनि सोही अनुसार निःशुल्क नक्सा बनाएका हुन । निःशुल्क नक्सा बनाएर अनलाइन सिस्टममा अपलोड गरे पनि बिल्डिङ स्ट्रकचर एनालाईसिस गर्ने कर्मचारीको अभावमा भने केही दिन काम ढिलो भएको उनको अनुभव छ ।
स्ट्रक्चर एनालाईसिस गर्ने एक जना मात्रै कर्मचारी रहेका कारण आफ्नो काममा ढिलाइ भएको उनले सुनाए ।
घर नक्साको इजाजत अनलाइन वितरणमा सफल भएपछि  इटहरी उपमहानगरले गएको साउन देखी निःशुल्क नक्सा पनि बनाइदिने सेवा सुरु गरेको छ ।
नगरवासीलाई निःशुल्क घर बनाइदिने पहिलो पालिका भएको उपमहानगरको दाबी पनि छ ।
साउन महिना देखी १ हजार स्क्वायर फिट भन्दा साना घरको निःशुल्क नक्सा डिजाइन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ ।
१ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर,४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिन सहितको प्राविधिक टोलीले नगरवासीलाई घरको नक्सा निःशुल्क डिजानईन गरिदिन्छन् ।
१५ सय स्क्वायर  फिट भन्दा माथिको भने नगरवासीले तोकिएको शुल्क तिर्नुपर्छ ।
अहिले दैनिक रूपमा ३ देखी ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घर नक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरे जानकारी दिए ।
साउन देखी पुस २६ गते सम्मको तथ्याङ्क अनुसार २१४ जनाले घर नक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन ।
 २३ घरधनीले अभिलेखीकरणका लागि निवेदन दिएका हुन भने अन्यले तला थपको लागि निवेदन दिएको निर्माण शाखाले जानकारी दिएको छ ।
सेवाग्राहीहरूको रुचि अनुसार घरको नक्सा डिजाइन गरी हाल सम्म ९५ जनाको सिस्टममा अपलोड भइसकेको घर नक्सा निर्माण शाखाका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिए ।
सेवाग्राहीको चाप धेरै रहेको उनले सुनाए । चाप धेरै भएका कारण टार्गेट अनुसार नक्सा डिजाइन गर्न गाह्रो भइरहेको उनको भनाई छ ।
शाखाले दैनिक कम्तीमा एक घरको नक्सा डिजाइन गर्ने टार्गेट राखेको इन्जिनियर घिमिरे जानकारी दिए ।
इटहरी उपमहानगरले सुरु गरेको अनलाइन सिस्टम राम्रो भए पनि अझै सुधार गर्दै जानुपर्ने निजी क्षेत्रबाट घर नक्साको काम गर्दै आएको इन्जिनियरिङ कन्सल्टेन्ट सोसाइटी इटहरीका अध्यक्ष इन्जिनियर उमेश तुम्बाहाम्फे बताए ।
पहिले जस्तो फाइल बोकेर हिँड्नुपर्ने अवस्था अहिले नभएको उनले सुनाए ।
अनलाइनको सफ्टवेयरमा धेरै लामो प्रोसेस(प्रक्रिया) रहेको, त्यसमा केही प्राविधिक समस्याहरू देखिएको जसलाई सुधार गर्दै सफ्टवेयरलाई अपग्रेड गर्नुपर्ने उनी सुझाव दिन्छन् ।
अर्को तर्फ निःशुल्क घर नक्सा बनाउने काममा पर्याप्त कर्मचारी नहुँदा उपमहानगरको योजनामा चुनौती देखिएको अध्यक्ष तुम्बाहाङ बताउँछन् ।
नक्सा डिजाइन गर्ने दक्ष कर्मचारी पर्याप्त नभएको र एक जना मात्रै स्ट्रक्चर एनालाईसिस गर्ने इन्जिनियरबाट काम गराउन खोज्दा सेवा प्रभावकारी हुन नसकेको उनको भनाई छ ।
‘बाहिरका कन्सल्ट्यान्सहरुमा धेरै इन्जिनियर हुँदा त स्ट्रक्चर एनालाईसिस गर्न लामो समय लाग्ने काम गर्न,एक जना मात्रै कर्मचारी छन्, कम्तीमा डेढ देखी २ दिन लाग्ने काम एक व्यक्तिले कसरी गर्न सक्छ ? अध्यक्ष तुम्बाहाम्फे प्रश्न गर्दै भने निःशुल्क घर नक्साको योजना सफल बनाउने हो भने पर्याप्त कर्मचारी राख्नुपर्छ हैन भने योजना असफल बन्न सक्छ । 
यदि नगरवासीलाई साँच्चै राहत दिने हो भने राजश्व कम गर्नुपर्ने उनको तर्क छ ।
घर निर्माणमा तिर्नुपर्ने राजश्व धेरै बढेको उनले बताए ।
निःशुल्क भने पनि राजश्व धेरै हुँदा नगरवासीले राहतको महसुस गर्न नसक्ने अध्यक्ष तुम्बाहाम्फे बताए ।
यता, अनलाइन सिस्टम सुरु भएपछि नगरवासीले सहज र सरल रूपमा सेवा लिन पाएको उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेल दाबी गर्छन् ।
ठुलो प्राविधिक चुनौतीलाई समाधान गर्दै घर नक्सालाई व्यवस्थित गर्न अनलाइन प्रणाली सफल भएको उनको भनाई छ ।
तर निःशुल्क घर नक्सा निर्माण शाखामा पर्याप्त कर्मचारी नहुँदा भने प्रभावकारी काम निकाल्न नसकिरहेको उनले बताए ।
‘ नेपाल भरमै पहिलो पटक इटहरीले नमुना काम सुरु गरेको हो । यो अन्त कतै छैन, हामीले सुरु गरेका छौँ ।
’ नगर प्रमुख पौडेलले भने ‘अर्को तर्फ इटहरी सहर सबै ढङ्गबाट सुरक्षित छ, यहाँ घर बनाउनेको चाप धेरै छ, त्यसमा अझ निःशुल्क भने पछि नगरवासीको चाप बढी हुने नै भयो, त्यस हिसाबले पनि बढी चाप परेको हो ´
तर अब अपुग दक्ष कर्मचारी थप गरेर घर नक्सा शाखालाई व्यवस्थित गर्ने नगर प्रमुख पौडेलले बताए ।
घर नक्सा शाखामा हुने भिडभाड व्यवस्थापन गर्न अनलाइन प्रणाली सफल भएको छ । नागरिकले सहज सेवा लिन पाएका छन् ।
नेपालभरका पालिकाहरू मध्ये पहिलो पटक निःशुल्क घर नक्सा डिजाइन गरिदिने उपमहानगरको योजनालाई सफल बनाउन भने दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार