क्यासिनोमा खुकुरी हानाहान प्रकरण : पक्राउ परेका युवकविरुद्व ज्यान मार्ने उद्योगको मुद्दा

आइतबार, २९ पुस २०८०
विराटनगर । विराटनगरको रत्ना होटेलमा सञ्चालित सम्राट् क्यासिनो परिसरमा आफ्नै साथीमाथि खुकुरी प्रहार गर्ने विक्रम थपलियाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने भएको छ । झापाको घैलाडुब्बा घर भई विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय थपलियाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार म्याद गर्दै घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानका लागि अदालतले पहिलो चरणमा ३ दिनको म्याद दिएको छ । प्रहरी स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्ने क्रममा भएको विवादलाई लिएर थपलियाले शनिवार बिहानका राति १ः३० बजेतिर विराटनगर महानगरपालिका–११ का ३१ वर्षीय रोनाल कँडेलमाथि खुकुरी प्रहार गरेका थिए । कँडेलको टाउको र देब्रे कानमा चोट छ । विराट नर्सिङ होममा उपचाररत उनको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ । कँडेलकी पत्नीले थपलियाविरुद्ध किटानी जाहेरी दिएकी छन् । डिएसपी दाहालका अनुसार कँडेलमाथि थपलियाले खुकुरी प्रहार गरेको खुलेको छ । घटनामा प्रयोग भएको खुकुरी प्रहरीले हालसम्म बरामद गर्न सकेको छैन । आपराधिक पृष्ठभूमिका थपलियाविरुद्ध मुद्दा नचलाउन राजनीतिक दलका नेतालगायतका विभिन्न व्यक्तिले दबाब दिएको प्रहरी स्रोतको भनाइ छ । मादक पदार्थ सेवन मापसे गरेर विराटनगर महानगरपालिका–११ स्थित सम्राट् क्यासिनो प्रवेश गरी जुवा खेल्ने क्रममा युवाहरूबिच विवाद हुन थालेपछि बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए । बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरूबिच खुकुरी र हेलमेट हानाहान भएको प्रत्यक्षदर्शीले बताए । डिएसपी दाहालले घटनासँग सम्बन्धित प्रमाण जुटाउने काम भइरहेको बताउँदै अनुसन्धानबाट थप विषय प्रस्ट हुने उल्लेख गरे । घाइते कँडेल र पक्राउ परेका थपलिया साथी साथी तथा आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको उनको भनाइ छ । कँडेल र थपलियासहितका केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए । जुवा खेल्ने क्रममा विवाद उत्पन्न हुँदा घटना भएको बताइएको छ । थपलियाको समूहलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका आपराधिक पृष्ठभूमिका गुन्डा नाइके अभिषेक गिरीको संरक्षण रहेको प्रहरीका अधिकारी बताउँछन् । नेपाली काँग्रेसमा आबद्ध गिरीले राजनीतिक संरक्षण पाएपछि विगतमा गुण्डागर्दी र आपराधिक राज चलाएका थिए । थपलियाले आफू अभिषेक गिरीको मान्छे भन्दै व्यापारी, सरकारी कर्मचारी तथा प्रहरी अधिकारीलाई थर्काउने र अनावश्यक दबाब दिने गरिरहेका थिए । गिरीकै संरक्षणमा रहेर थपलियाले पछिल्लो समय गुण्डागर्दीका माध्यमबाट विराटनगर र आसपासका स्थानमा आतङ्क मच्चाइरहेको प्रहरीको दाबी छ । उनले मिटर ब्याजको धन्दा चलाउने, व्यवसायीलाई धम्क्याउने र आतङ्कित पार्ने गरेको छिटपुट सूचना आइरहेको प्रहरी स्रोतले बतायो । थपलियाको आपराधिक पृष्ठभूमिसमेत केलाएर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी डिएसपी दाहालले दिए । उनका अनुसार क्यासिनोका सञ्चालकले झगडामा संलग्न युवाहरूलाई प्रवेश नदिएको बताएका छन् । तर, क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएसँगै यस विषयमा पनि अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । क्यासिनोमा जुवा खेलाएका कारण झगडा भएको हो कि हैन भनेर प्रमाणहरू सङ्कलन गर्ने काम भइरहेको दाहालले बताए । नेपाली युवालाई प्रवेश दिएर जुवा खेलाएको पुष्टि भएमा क्यासिनोका सञ्चालकविरुद्ध पनि जुवा ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । विराटनगरको रत्ना होटेलमा ‘सम्राट्’ र बिग होटेलमा ‘च्याम्पियन जोन’ क्यासिनो सञ्चालनमा छन् । नेपालीलाई क्यासिनोमा प्रवेश गर्न र जुवा खेल्न कानुनले नै निषेध गरेको छ । तर, दुवै क्यासिनोमा कानुन विपरीत निर्बाध रूपमा प्रवेश गरेर नेपालीले जुवा खेल्दै धन सम्पत्ति सकिरहेका छन् । क्यासिनोका सञ्चालकले कुनै रोकटोक नगरीकन निर्बाध रूपमा प्रवेश दिँदा जुवा प्रेमी नेपालीले क्यासिनोलाई मनोरञ्जन स्थल बनाएका छन् । क्यासिनो प्रवेश गर्न विदेशी नागरिक पुष्टि हुने ‘आइडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियम छ । पैसा कमाउनकै लागि सञ्चालकले कानुनको धज्जी उडाएर नेपालीलाई क्यासिनो प्रवेश गराउने गरेको स्रोतको भनाइ छ । युवाहरूबिचको खुकुरी हानाहानले पनि नेपालीले क्यासिनोमा खुलेआम प्रवेश पाइरहेको प्रस्ट हुन्छ । स्रोतका अनुसार राज्यका निकायले बेवास्ता गर्दा क्यासिनो सञ्चालकले मनोमानी ढङ्गबाट नेपालीलाई जुवा खेलाइरहेका छन् । कानुन विपरीतका गतिविधि हुँदा पनि प्रदेश सरकार, स्थानीय प्रशासन, विराटनगर महानगरपालिकासमेतका निकाय मौन रहनु शङ्कास्पद छ । विराटनगरका क्यासिनोमा नेपालीले प्रवेश पाउने गरेको उजुरी ‘हेलो सरकार’मा यसअघि नै परिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार