कांग्रेस सधैँ पहिचानको पक्षमा ः शेखर कोइराला

मंगलबार, ०२ माघ २०८०
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरे । ‘कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।’ प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए । देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गरे । ‘सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,’ कोइरालाले भने, ‘‘सुशासन बिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।’ भ्रष्टाचार र व्यथितिकै कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताए । ‘पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,’ कोइरालाले थपे, ‘उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।’ नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे । राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार