मोरङको पथरीशनिश्चरेमा दुर्घटना, वृद्धाको मृत्यु 

बुधबार, ०३ माघ २०८०
विराटनगर । मोरङको पथरीशनिश्चरेमा बुधवार दिउँसो यात्रुबाहक बसले सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको छ ।
दुर्घटनामा परेर एक जना वृद्धा महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोक मार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा दिउँसो १२ बजेतिर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ७८३५ नम्बरको बसले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा तेह्रथुम घर भएकी ८० बर्सिया हस्तमाया गुरुङको मृत्यु भएको छ । डिएसपी श्रेष्ठका अनुसार सफारीमा सवार रहेकी वृद्धा पथरीशनिश्चरे–२ स्थित आफन्तकोमा पाहुना आएकी थिइन् ।
दुर्घटनामा परेर घाइते भएकी उनलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ दिउँसो १ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी श्रेष्ठले दिए ।
दुर्घटनामा सफारी चालक पथरीशनिश्चरे–२ का ५१ वर्षीय ललितकुमार गुरुङ घाइते भएका छन् । घाइते सफारी चालकको पथरी अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटना लगत्तै बस र चालक पाँचथरको मेमेङ घर भएका ३२ वर्षीय अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार