बिर्तामोडमा ५ वर्षीया बालिकामा दादुराको संक्रमण

विहीबार, ०४ माघ २०८०
झापा । विगत दश वर्षयता पहिलोपटक बिर्तामोडमा दादुराको संक्रमण देखा परेको छ । बिर्तामोड ३ की ५ वर्षीया बालिकामा दादुरा देखा परेको हो । दुई दिनअघि ती बालिकालाई उपचारका लागि बिर्तामोड नगर अस्पताल ल्याइएको छ । दादुराको लक्षण देखिएपछि उनको रगत परीक्षण गर्दा पुष्टि भएको नगर अस्पतालका निरीक्षक गणेश रिजालले बताए । उनले ती बालिकालाई औषधि दिएर आइशोलेसनमा राखिएको जानकारी दिए । रिजालका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो । बिर्तामोडमा करिव एक दशकयता दादुराको संक्रमण देखिएको थिएन । उता झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएपछि घरधुरी सर्वेक्षणदेखि सरोकारवालाहरुलाई अभिमुखीकरण गर्न थालिएको छ । झापा गाउँपालिकाको वडा नं ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन् २०२३ मा झापामा ६ जनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा ७ जनालाई संक्रमण देखिसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । उनले केही महिनापछि झापा जिल्लामा दादुरा खोपको अभियान संचालन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार