वडा सदस्य नै धर्नामा

शुक्रबार, ०५ माघ २०८०
राजविराज । राजविराज नगरपालिकाको मुख्य बजारमा वर्षौंदेखि घर तथा खाली जग्गामा भएका हजारौं परिवार बसोबास गर्छन् । बाबुबाजेको पालादेखि रहेको आफ्नो जग्गाको लालपुर्जा नहुँदा समस्या पर्दा बिक्रीवितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसकेको स्थितिमा पुग्दा उनीहरू चर्काे ब्याजदरमा व्यक्तिसँग ऋण लिन बाध्य भएका छन् । यिनै मुद्दालाई प्राथमिकतामा राख्दै विभिन्न ७ बुँदे मागसहित आन्दोलनरत वडा सदस्यले बिहीबार राजविराज नगरपालिकामा एकघन्टे धर्ना दिएका छन् । ७ दिनअघि ७ बुँदे माग राख्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनलाई ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्रउपर खासै पहल नगरेको देखिएकाले बाध्य भई धर्ना कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए । नगरको वडा सदस्यको बृहत् भेलाबाट वडा सदस्य देवको संयोजकत्वमा गठित संघर्ष समितिले माग पूरा नभएसम्म दैनिक रूपमा धर्ना कार्यक्रम अघि बढाउने तथा संघर्षका थप कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन हुने देवले बताएका छन् । नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ हजारौं परिवार वर्षौंदेखि लालपुर्जा नपाएको नगरपालिकाबाट नक्सा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रियासमेत लामो समयदेखि रोकिएपछि मर्कामा परेका छन् । विगत ७ वर्षदेखि स्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि नगरको मुख्य बजारका बासिन्दा बैंक तथा वित्तीय संस्थाबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित भएका हुन् । ‘पहिलेपहिले बिटौरी रसिदकै आधारमा बैंकमा जग्गा धितो राखी कारोबार हुन्थ्यो,’ वडा सदस्य दीपक शर्माले भने, ‘विगत सात वर्षदेखि मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि बैंकले पनि ऋण दिन नमानेका कारण नगरका झन्डै ५ हजारभन्दा बढी परिवार कस्टकर जीवन बिताउन बाध्य छन् ।’ बिटौरी जग्गाको वर्षौंदेखि कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा र नक्सा पास उपलब्ध नगराउँदा बैंकले त्यस्तो जग्गा धितो राख्न अस्वीकार गर्ने गरेकाले व्यापार व्यवसाय पनि चौपट बन्दै गएको उनको भनाइ छ । बिटौरी जग्गा हरेक चुनावमा उम्मेदवारको चुनावी एजेन्डा बन्ने गरेको छ । तर, सो मुद्दा एजेन्डा र घोषणापत्रमा मात्र सीमित रहने गरेको नगरबासीको गुनासो छ । संघर्ष समितिले नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्तदुरुस्त बनाउनुपर्ने, नगरसभाबाट पारित योजना अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, नगरको मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्नुपर्ने, छाडा पशु चौपाया नियन्त्रण तथा नगर प्रहरी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्नुपर्नेलगायतका माग पनि अघि सारेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार