पाथीभरा मन्दिरमा जाने केबलकार निर्माण गर्न सहजीकरण समिति

शुक्रबार, ०५ माघ २०८०
ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध शक्ति पीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो । सो बैठकमा पाथीभरामा केबलकार निर्माण गर्ने भन्नेबारेमा वर्षौँदेखि चर्चा भए पनि काम सुरु हुन नसकेकाले त्यसमा आवश्यक सहजीकरण गरी निर्माण प्रक्रिया अघि बढाउनका लागि उक्त निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । बैठकले जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा आवश्यक तयारीका साथै असहमत पक्षसँग वार्ताका लागि नौ सदस्यीय वार्ता टोली गठन गरेको हो । सो समितिका सदस्यमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र राजन लिम्बू, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल रहेका छन् । पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाएकाले ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्ति पीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने भन्दै विरोधमा रहेको पक्षसँग वार्ता गरेर सर्वपक्षीय सहमति जुटाई निर्माण सुरु गर्न वार्ता समिति गठन भएको हो । केबलकार निर्माण पक्षले भने संरचना निर्माण अघिका सबै प्रक्रिया पूरा गरी निर्माण थाल्ने योजनामा रहेको र यहाँका कुनै पनि मौलिकतामा निर्माणका कामले असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार