विवादै विवादमा धरान कार्यपालिका बैठक,उपमेयर भन्छन् 'विकासमा बाधा भएको छैन'

सोमबार, ०८ माघ २०८०
धरान । धरान उपमहानगरपालिकामा कार्यपालिका बैठकमा विवादै विवाद र अवरुद्ध हुँदै आएको छ । केही समय अगाडी सम्म नगर प्रमुख हर्कराज राई र वडाध्यक्षहरू बिच विवाद भएर कार्यपालिका बैठक अवरुद्ध हुने गर्थ्यो भने पछिल्लो समय गत पौष २९ गते बसेको कार्यपालिका बैठकमा नगर प्रमुख राई र उपप्रमुख आईन्द्र विक्रम बेघा बिच विवाद हुँदा कार्यपालिका बैठक नै अवरुद्ध भएको थियो । यसरी निरन्तर कार्यपालिका बैठक अवरुद्ध हुँदा धरानको विकासमा प्रभावित भएको छ । यस्तो हुनु धरानको दुर्भाग्य भएको र धरानको विकासमा आपसी स्वार्थलाई त्यागेर नगरप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू मिलेर अघि बढ्नुपर्ने अधिवक्ता दीपक कुमार बुढाथोकीले बताए ।
गणतन्त्र,लोकतन्त्र सबै आए पनि जनताले चाहे अनुसारको विकास राजनीतिक दलहरूबाट नभएपछि वितृष्णा पैदा भई गत सालको स्थानीय चुनावमा स्वतन्त्र उमेद्वार हर्कराज राईलाई नगर प्रमुखमा जिताए पनि जनताको अपेक्षा भने अपेक्षामै सीमित भएको व्यवसायी भुवन कुमार राई बताए ।
केन्द्र र बजेटबाट आउने बजेट समेत सधैको बेमेलका कारण आउन नसकेकोले धरानको समग्र विकास समेत प्रभावित भएको उनले बताए । पछिल्लो समय मेयरको कार्यकक्षबाट हटाइएको फोटोको विषय होस् या उपमेयरलाई कटाक्ष गरेर मेयरले सामाजिक सञ्जालमा लेखेको विषय होस यी सबै सामान्य विषय भएकोले अभिभावक भएको हिसाबले सबैलाई समेटेर समृद्धिको बाटोमा लानु नै अबको निकास भएको उपमेयर आइन्द्रविक्रम बेघाले बताए । कहिलेकाहीँ मनमुटाब हुन्छ, आ–आफ्नो कुराहरू राख्न पाइन्छ त्यसलाई झगडाले विकासमा प्रभाव परेको भन्न नमिल्ने बेघाले बताए । हामी सबै धरानको विकास गर्न आएको हो र स्थानीय तहको निर्वाचन पश्चात् विगत १८ महिनाको सहयात्रामा धरानमा धेरै नै विकास भएको उपप्रमुख बेघाले बताए । “उपप्रमुखको हैसियतले धरानको विकासमा सकेको सबैमा साथ सहयोग दिँदै आएको छु कहिले काहीँ मनमुटाब हुन्छ कुरा राखेको मात्र हो । हामी विकासमा निरन्तर लागिपरेको छौँ” उनले बताए ।
धरान पछिल्लो समय देश विदेशमा चर्चाको सहर समेत बनेको छ । गत जेठ महिनामा श्रमदानबाट कोकाहा खोलाबाट ४२ किलोमिटर दुरीबाट ९८ औँ दिनमा पानी ल्याउँदा होस, मन्दिर अगाडि बनेको चर्चको विषय होस या गोरु काटेर खाएको विषय होस या कार्यपालिका बैठकमा सधैँ हुने झगडाले समेत धरानलाई चिनाउने गरेको छ ।
समृद्धि र विकासको सहर भनेर विगतमा चिनिने धरान विवादै विवादको सहरको रूपमा पनि चिनिन थालेको छ । अब यसलाई चिर्न आफ्नो स्वार्थलाई थाँती राखेर सबै जनप्रतिनिधि समृद्धिको यात्रामा हिँड्न आवश्यक रहेको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार