विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएको छ ।
एकले अर्कालाई सहयोग गर्ने गरी दुई दलबीच तालमेल भएपनि मतभारका आधारमा एमाले–राप्रपा गठबन्धन कमजोर देखिएको छ । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा निर्वाचनमा एकले अर्कालाई सघाउने सहमतिसहित एमाले र राप्रपाबीच तालमेल भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
तालमेलपछि निर्वाचन जित्नेमा आशावादी रहेको उनको भनाइ छ । भण्डारीले निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको उल्लेख गरे । यद्यपि, सत्तारुढ गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धनको मतभार कम छ ।
राप्रपाले राष्ट्रियसभाको निर्वाचनमा अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । महिलातर्फ उम्मेदवार उठाएन । एमालेले महिलातर्फ रुक्मिणी कोइराला र अन्यतर्फ पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको सहमति अनुसार एमालेले अधिकारीलाई ‘ब्याक’ गराउने र राप्रपाका पौडेललाई सहयोग गर्ने स्रोतको भनाइ छ ।
राप्रपाले महिलातर्फ एमालेकी कोइरालालाई सघाउने सहमति भएको बताए । सत्ता गठबन्धनको मतभार धेरै भएकाले एमाले र राप्रपाबीच तालमेल गरिएको भण्डारीको भनाइ छ ।
एक्लै चुनावमा जाँदा जित्ने अवस्था नभएको उनले बताए । यद्यपि, तालमेल गर्दा पनि सत्ता गठबन्धनकै मतभार बढी भएकाले एमाले–राप्रपाका उम्मेदवारलाई जित निकाल्न कठिन हुने देखिन्छ ।
राष्ट्रियसभा सदस्य बनेका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा (माओवादी केन्द्र)की बिना पोखरेलको पदावधि सकिन लागेपछि कोशीमा राष्ट्रियसभाको दुई सिटका लागि निर्वाचन हुँदैछ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर निर्वाचनमा जम्मा ३ सय ६७ जना मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ ।
कोशीको १० हजार १ सय ३५ कूल मतभारमध्ये ९३ जना प्रदेशसभा सदस्यको ४ हजार ९ सय २९ हुन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् ।
कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यका हिसाबले एमाले–राप्रपाको २ हजार ४ सय ३८ र सत्तारुढ गठबन्धनको २ हजार ४ सय ९१ मतभार हुन्छ ।
कोशीका १ सय ३७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७४ जनाले राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउँछन् । उनीहरुको मतभार ५ हजार २ सय ६ पुग्छ ।
कांग्रेसका १ सय १३, माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना प्रमुख-उपप्रमुख छन् । स्थानीय तहबाट सत्ता गठबन्धनको मतभार २ हजार ९ सय ४५ पुग्छ । एमालेका १ सय १२ र राप्रपाका ४ जना प्रमुख एवं उपप्रमुख गरेर एमाले–राप्रपाको कूल मतभार २ हजार २ सय ४ हुन्छ । स्वतन्त्र ३ जनाको मतभार ५७ हुन्छ ।
प्रदेश र स्थानीय तह गरेर स्वतन्त्रबाहेक गठबन्धनसँग ५ हजार ४ सय ३६ तथा एमाले–राप्रपासँग ४ हजार ६ सय ४२ मतभार हुन्छ । सत्तारुढ गठबन्धनले राष्ट्रियसभामा अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । मतभार धेरै भएकाले पनि राष्ट्रियसभा निर्वाचन जित्नेमा सत्तारुढ गठबन्धन ढुक्क छ ।
प्रतिक्रिया