प्रमुख प्रतिपक्षी एमालेले प्रमुख सचेतक र सचेतक तोकिसकेको छ । प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक अम्बरबहादुर विष्ट अहिले प्रदेशको सभामुख छन् । राप्रपाले नयाँ प्रमुख सचेतकसहित सचेतक तोकिसकेको छैन । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले थप पदाधिकारीलाई सुविधा दिन सरकारले अनुसूची परिवर्तन गर्नुपर्ने बताए ।
अध्यादेशमार्फत ऐन संशोधन गरेर थपिएका पदाधिकारीका लागि गाडी, इन्धन र चालकको व्यवस्थापन भई नसकेको उनको भनाइ छ । सरकारले गाडी किनेर र चालक तथा इन्धन दिएमा थप सेवा सुविधा उपलब्ध गराइने पराजुलीको भनाइ छ ।
यसअघि तत्कालीन नेकपा र प्रतिपक्षी काँग्रेसलाई मात्रै केन्द्रित गरेर ऐन बनाइएको थियो । त्यति बेला दलको नेता नै मुख्यमन्त्री हुन्थे । तर, अहिले एउटै पार्टीबाट दलको नेता र मुख्यमन्त्री अलगअलग छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दलको नेतालाई लक्षित गरेर ऐन बनाइए पनि संशोधन गरेपछि भने अन्य दलका नेताले समेत सुविधा लिन सक्ने छन् ।
मन्त्रिपरिषद्बाट निर्णय गरेर माओवादी दलका नेता इन्द्रबहादुर आङ्बो र एमाले दलका उपनेता रामबहादुर रानालाई गाडी सुविधा दिइएको छ ।
सुरक्षा चुनौती रहेको देखाउँदै उनीहरूलाई ऐनमै उल्लेख नभएको सुविधा उपलब्ध गराइएको हो । संसद् सचिवालयले पत्राचार गरे पनि गाडी फिर्ता गरिएको छैन । उनीहरूलाई संसदीय समितिका सभापति चढ्ने गाडी उपलब्ध गराइएको प्रदेशसभा सचिवालयका सचिव पराजुलीले बताए ।
काँग्रेस दलका उपनेता हिमाल कार्कीले पनि सरकारी गाडी चढिरहेका छन् । ‘समिति सभापतिहरू अहिलेसम्म चयन भइसक्नु भएको छैन । सभापति चयन हुनेवित्तिकै गाडी दिनुपर्छ,’ उनले भने, ‘एउटा गाडी आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आएको छ । त्यो काँग्रेस दलका उपनेता कार्कीले प्रयोग गरिरहनु भएको छ ।’
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संसद् नचलेको अवस्थामा ऐन संशोधन गरेर सेवा सुविधा थप्नु अनुचित भएको बताए । ‘कानुन बिना नै अध्यादेशबाट सेवा सुविधा थप्नु लज्जास्पद छ,’ उनले भने, ‘अध्यादेशप्रति एमालेको घोर आपत्ति र विरोध छ ।’
त्यस सम्बन्धमा सोमबार पत्रकार सम्मेलन गरेर पार्टीको विस्तृत र आधिकारिक धारणा सार्वजनिक गरिने भण्डारीको भनाइ छ ।
प्रदेश सरकारले गत माघ ६ गते पारित गरेको अध्यादेशबाट प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५, कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश भवन ऐन २०७६, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७, कोशी प्रदेश वन ऐन २०७७ र प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ऐनहरू संशोधन गरेका हुन् ।
प्रतिक्रिया