पाथीभरामा केबलकार निर्माण नदिने भन्दै ताप्लेजुङमा प्रदर्शन

बुधबार, १७ माघ २०८०
ताप्लेजुङ / पाथीभरा (मुक्कुमलु) मा केबलकार निर्माण गर्न नहुने भन्दै फुङलिङमा प्रदर्शन भएको छ । मुन्धुम स्थलको माथि–माथि केबलकार कुदाउन नहुने भन्दै स्थानीयले विरोध गरेका हुन् । मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, केबलकार निर्माण खारेजी संयुक्त सङ्घर्ष समिति, किराँत याकथुङ चुम्लुङ, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, पहिचानका लागि युवा समिति, मुक्कुमलुङ फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न संघसंस्थाहरूको संयोजनमा प्रदर्शन भएको हो । ‘राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरू एक होऔँ’ जस्ता नारा सहित प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागिता जनाउन राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्गा, किराँत याकथुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम र लिम्बू थरगत संस्था (याकथुङ सयङ) मूल अभियान सहजीकरण समूहका नन्द कन्दङ्वा सहितका पहिचान पक्षधर नेताहरु फुङलिङ पुगेका छन् । केबलकार निर्माण गर्न नहुने अडान राख्नेहरूले पाथीभरामा केबलकार निर्माणले सो क्षेत्रको पर्यावरण, पुरातात्त्विक र जैविक विविधता नष्ट सँगै मनोरम प्राकृतिक सम्पदा विनाश हुने तथा सांस्कृतिक अतिक्रमण बढ्ने तर्क गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार