नेपाली चियामाथि भारतबाट पुनः अवरोध

विहीबार, १८ माघ २०८०
इलाम / नेपाली चियालाई पुन परिक्षण गर्नु पर्ने भन्दै भारतीय पक्षबाट पुन निकासीमा अवरोध सुरु भएको छ । भारतीय व्यवसायीले चियामाथि परिक्षण गर्नु पर्ने भन्दै निकासीमा असहज परिस्थिती निम्तियाएका हुन् । चियालाई खाद्य प्रयोगशालाहरूमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न केन्द्रीय कृषि मन्त्रालयसँग दार्जिलिङ टी–एसोसिएसनका सल्लाहकार सन्दीप मुखर्जीले अपिल गरेका छन् । खाद्यवस्तु भएकाले विस्तृत परीक्षणपछि मात्रै नेपालको चिया भित्र्याउनुपर्ने भन्दै उनले दार्जिलिङको चियालाई खतरा हुन सक्ने बताए । नेपाली चियाले दार्जिलिङको ब्रान्डमा मात्रै असर पु¥याएको छैन, सिंगो दार्जिलिङको चिया उद्योगलाई नै धराशायी बनाउँदै लगेको व्यवसायीको आरोप छ । सन् २०२१ नोभेम्बर ३ मा टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमा पत्राचारै गरेको थियो । त्यसअघि पनि खरसाङकी तत्कालीन राज्यसभा सदस्य शान्ता क्षेत्रीले पश्चिम बंगाल विधानसभामै नेपाली चिया आयातमा रोक लगाउन माग गरेकी थिइन् । लगत्तै बंगालका तत्कालीन श्रममन्त्री बेचाराम मन्नाले मुख्यमन्त्री ममता बेनर्जीलाई लिखित सिकायत गरे, ‘नेपालको चियाले यहाँ समस्या हुने भयो, तत्काल रोक लगाउनुर्छ ।’ सन् २०१५ मा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको दार्जिलिङ भ्रमणका बेला भारतीय व्यवसायीहरूको साझा माग थियो, ‘नेपाली चियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भयो, विश्वबजारमा हाम्रो साख गिर्ने भयो, तुरुन्त आयात बन्द गरिदिनुपर्छ ।’ नेपाली चियालाई दार्जिलिङ ब्रान्डका रूपमा तेस्रो देश निर्यात गर्ने व्यवसायीका कारण थप समस्या भइरहेको मुखर्जी बताउँछन् । ‘धेरै बेइमान व्यापारीले नेपालको चियालाई दार्जिलिङ बनाएर बेचिरहेका छन्,’ उनको दाबी छ, ‘यो अवैध कामको भन्डाफोर गर्न जरुरी देखिन्छ ।’ दार्जिलिङ र नेपालको भूगोल उस्तै छ । हावापानी पनि उही छ । समान भौगोलिक अवस्थाका कारण नेपाली चिया दार्जिलिङको भन्दा कम छैन । उत्पादन लागत दार्जिलिङको तुलनामा कम छ । तसर्थ केही भारतीय व्यापारीले नै कम मूल्यमा आयात गरिएको नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गरी डलर भित्र्याउँदै आएका छन् । सन् २०२३ मा १ करोड ७० लाख किलो नेपाली चिया भारत निर्यात भएको देखिन्छ । तर दार्जिलिङका चिया उद्योगले त्यही अवधिमा करिब ६० लाख किलो चिया मात्रै उत्पादन गरेको पाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार