आव २०७७-७८ मा २३२ स्थानीय तहले स्वकीय सचिव र सल्लाकार नियुक्त गरी वार्षिक १० करोड २९ लाख २३ हजार रुपियाँ पारिश्रमिकस्वरूप भुक्तानी दिएको देखिएको तथा आव २०७६-७७ मा १३१ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी नौ करोड २९ लाख १६ हजार रुपियाँ पारिश्रमिकस्वरूप भुक्तानी दिएका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सरकारलाई दिएको विभिन्न सुझावमा स्थानीय तहमा कार्यसम्पादनका लागि आवश्यक नभएका सरकारी साधन र स्रोतको अपव्यय हुने गरी, प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकार नियुक्त नगर्न आग्रह गरेको थियो । अनुत्पादक र आफू अनुकूलका व्यक्तिलाई प्रेस, कानुनी, प्रशासनिक सल्लाहकार, स्वकीय सचिवलगायतका पदमा नियुक्त नगर्न सबै स्थानीय तहलाई यसअगाडि नै ध्यानाकर्षण गराउँदै आएको मन्त्रालयले जनाएको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले केही स्थानीय तहका जनप्रतिनिधिले सल्लाहकार र स्वकीय सचिव राख्ने गरेको पाइएकाले त्यस्तो कार्य नगर्न सङ्घले आग्रह गर्दै आएको बताए । उनले महालेखा परीक्षकको प्रतिवेदन, अख्तियारको सुझाव र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रलाई ध्यानमा राखी स्थानीय तहका जनप्रतिनिधिको सुविधाका लागि कानुनमा नै नभएको व्यवस्था कार्यान्वयन नगर्न पुनः आग्रह गरिने स्पष्ट पारे ।
प्रतिक्रिया