विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् ।
नेताहरूले बताएअनुसार कुन दलले कति मन्त्रालय पाउने र कुन दलबाट को मन्त्री बन्ने भन्ने समेत सहमति जुटिसकेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिनेछन् । थपिने मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार र रामकुमार कार्की छन् भने इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।
सुनुवार संस्थापनतर्फका हुन् भने कार्की र थापा संस्थापन इतर तर्फका हुन् । सुनुवार र कार्कीले उद्योग, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयमा एक/एक मन्त्रालय बाँड्नेछन् ।
यस्तै सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) लाई दिने भनिएको स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले नै राख्नेछ । जसपाले भने अहिल्यै सरकारमा नजाने बताएको छ ।
यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट दुई मन्त्री थपिनेछन् । थपिने मन्त्रीहरूमा नारायण बुर्जामगर र राजेन्द्र कार्की फाइनल भएका छन् ।
बुर्जामगर र कार्कीले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा एक/एक मन्त्रालय लिनेछन् ।
अहिले मुख्यमन्त्रीसहित कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राई, माओवादी केन्द्रबाट पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकासमन्त्री छन् ।
आज थप विस्तार भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । मुख्यमन्त्रीको सचिवालयका अनुसार आजै शपथ ग्रहणको तयारी समेत गरिँदैछ ।
प्रतिक्रिया