ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुनः अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । ‘हामीले पीडितको हस्ताक्षर गरेर जाहेरी बुझाएका हौं । त्यसमा थप अनुसन्धान गर्ने पाटो प्रहरीको हो,’ उनले भने ।लामिछानेले ऋण लिएको प्रतिवेदन सार्वजनिक भए पनि अन्य १७ व्यक्ति तथा संस्थाको विषयमा अनुसन्धानपछि मात्रै थाहा हुने एसपी थापाले बताए । ‘यो सहकारीबाट करिब ६र७ सयले ऋण लगेको देखिन्छ । यो पूरक उजुरीसँगै ती ऋणीमाथि पनि अनुसन्धान सुरु गरिनेछ,’ उनले भने, ‘अनुसन्धानपश्चात् पूरक अनुसन्धान प्रतिवेदन तयार गर्ने र त्यसैका आधारमा दोषी देखिएमा अन्यलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेस गरिनेछ ।’ कास्की कारागारमा रहेका सहकारीका आईटी अफिसरलाई झिकाएर अनुसन्धान थालिसकेको उनको भनाइ छ । ग्यालेक्सी टीभीका अध्यक्ष रहेका जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पीडित बचतकर्ताले गत साउनमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायरसमेत भइसकेको छ । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ । पोखरा, चितवन, वीरगन्ज, वुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी रकम योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया