कुवेतमा बेचिएकी चेली भन्छिन्– मैले आठ दिन भयो खाना नखाएको, उद्धार गर्नुहोस्राति ३ बजेसम्म काम गरेर सुत्न जाँदा पनि बिहान ५ बजे नै उठ्नुपर्ने र केही नखाइ काम गर्नुपर्ने हुँदा दिन प्रतिदिन आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गएको उनले बताएकी छन् । ‘म यहाँ एउटा ठूलो सपना बोकेर आएकी थिएँ, मेरो बाबाको एउटा खुट्टा छैन, म केही कमाएर बाबाको कृत्रिम खुट्टा हालिदिनुप¥यो भनेर यहाँ आएकी थिएँ, तर दलालको फन्दामा पर्दा म बेचिएँ, मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, म यो कालको कोठीबाट निस्किन चाहन्छु,’ उनले रुँदै सार्वजनिक गरेको भिडियोमा भनिएको छ, ‘मलाई नेपाल झिकाइदिनुहोस्, मेरो बाबाको खुट्टा छैन, मैले भाइबहिनी पनि पढाउनु छ, एजेन्ट वा अफिसमा फोन गर्दा ४ लाख रुपैयाँ दिए मात्र नेपाल फर्किन पाउँछेस् भन्छ, मजस्तो गरिबले कहाँबाट ल्याउने त्यत्रो पैसा ?’ कुवेतमा रहेको एजेन्टले ४ लाख रुपैयाँ नदिए घर पठाउन नसक्ने र मरेपछि शव नेपाल पठाइदिने धम्की दिएको बुढाले बताएकी छन् । ‘नेपालबाट पठाउने एजेन्ट अनु गिरीलाई सम्पर्क गर्दा १ लाख १० हजार भारतीय रुपैयाँ दिए मात्र नेपाल फर्काउँछु, नत्र फर्काउँदिन’ भनेको उनको भनाइ छ । बुढाले नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास, देश–विदेशमा रहने सम्पूर्णलाई आफू जिउँदै नेपाल फर्कन चाहेको भन्दै सबैलाई सहयोग गरीदिन पनि अनुरोध गरेकी छन् । मुख्यगरी घरेलु महिला कामदारको रोजाइ बनेको कुवेतमा अन्य क्षेत्रमा आउने कामदारले समेत निकै दुःख भोग्नुपरेको छ । कतिपय नेपालीले कुवेतमै आफ्नो जीवन गुमाइसकेका छन् । परिवार र सरोकारवालाले खोजे पनि सास न लास भएर कुवेतमै बेपत्ता हुने नेपाली धेरै छन् । कतिपय नेपालीलाई कुवेत ल्याएर साउदी अरब पठाइने गरेकाले पनि उनीहरूको अवस्था पत्तो नलाग्ने गरेको हो । कुवेतमा नेपाली महिलालाई कानुनी रूपमा किनबेच हुनेगरेको र पटकपटक किनबेच गर्न महिलालाई काम गरिराखेको घरबाट भगाउने प्रवृत्ति व्यापक रहेको पाइन्छ । त्यसरी मालिकले २ वर्षका लागि ‘हाउसमेड’लाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्यसमय निश्चित हुँदैन । बिदा र तलबका साथै समयमै घर फर्कन नपाउने अवस्था छ । पछिल्लो समय नेपाली चेलीहरू विमान नचढ्दै नेपालमै ‘बिक्री’ हुने गरेका छन् । कुवेतलगायत खाडी मुलुक जाने अधिकांश नेपाली चेलीलाई मानव तस्करहरूले सम्बन्धित मुलुकमा जाने ठाउँका घर मालिकहरूसँग मोटो रकम लिएर बिक्री गर्ने गरेको पाइन्छ । पछि समस्यामा परेपछि हारगुहार गर्ने नेपाली चेलीको संख्या बढ्दो छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया