मोरङका अलग-अलग स्थानमा आगलागी, ८१ लाख बढीको क्षति

मंगलबार, ०१ फागुन २०८०
विराटनगर । मोरङका अलगअलग स्थानमा आगलागी हुँदा ८१ लाखभन्दा बढीको क्षति भएको छ । सुनवर्षी र कानेपोखरीका दुईवटा घरमा सोमाबार राति आगलागी भएको हो । सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा राति ८ः३० बजेतिर आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले घरसहित घरमा रहेको ३ लाख नगद, ४ तोला सुन, अन्नपात, लत्ताकपडा, फर्निचरका सामानलगायत जलेर ध्वस्त भएको छ । आगोले २ तले पक्की घर पूर्णरूपमा जलेको छ । घटनामा मानवीय र चौपाया क्षति भने भएन । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै, कानेपोखरी गाउँपालिका–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति ११ः५५ बजेतिर आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठका अनुसार आगोले ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, १८ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ६ वटा बाख्रा जलेको छ । आगालागीमा ३१ लाख १८ हजार बराबरको क्षति भएको जानकारी उनले दिए । श्रेष्ठका अनुसार आगलागीमा २० लाख बराबरको घर, ७ लाखको सुन, १ लाखको धान, ३ लाखको ग्वाली तथा ३० हजार बराबरको खसीबाख्रा जलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीका दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तस्बिर : फाइल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार