पाँचथर / राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक सहिष्णुता र विविधताभित्र एकताको सन्देश दिन आफू पाँचथर आएको उल्लेख गरे । पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको बहु धार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले अनेकता भित्रको एकता नै नेपालीहरूको मुख्य पहिचान भएको बताए ।
आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वास त्यागेर, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सके मात्र राष्ट्र सबल हुने पौडेलको तर्क थियो । पौडेलले पाँचथरलाई किराँतहरूका महागुरु फाल्गुनन्दको तपोभूमी एवं वैदिक दर्शनका ज्ञाता स्वामी प्रपन्नाचार्यको भूमिको रूपमा स्मरण गरे ।
सम्बोधनको क्रममा उनले लोकतन्त्रका लागि जीवन समर्पण गरेका भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, पूर्णकुमार सेर्मा, देवान दोर्जे थिङ, प्रेमराज आङ्देम्बे, मचिन्द्र केरुङ, ऐनसिंह राई, कालिदाश श्रेष्ठ, तेजप्रकाश रिजाल लगायतलाई स्मरण गरे । पौडेलले क्याम्पसको स्थापनामा योगदान गर्ने पूर्व मन्त्री पद्म सुन्दर लावतीलाई समेत स्मरण गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको अध्यक्षतामा महोत्सवको उद्घाटन भएको हो । सात दिनसम्म सञ्चालन हुने महोत्सवमा हिन्दु, किराँत र बौद्ध धर्मका गुरुहरूले एउटै मञ्चबाट प्रवचन दिने तयारी छ ।
प्रतिक्रिया