सरकारी छाप दुरुपयोग कसूरमा नेविसंघका केन्द्रीय सदस्यसहित ३ पक्राउ

शनिबार, ०५ फागुन २०८०
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी छाप दुरुपयोग अभियोगमा नेवि संघका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १९, पुरुन्चौर घर भइ हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखरा चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ हुन् । तीमध्ये बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापति एवं नेवि संघ फोर्सका निवर्तमान सभापति हुन् । उनी हाल नेविसंघ केन्द्रीय सदस्य छन्। वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले उनीहरुले पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताए । साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्युटरसमेत बरामद गरिएको छ । उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूरमा १० दिन म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डिएसपी विकले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार